सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा छन् : आईजीपी कार्की

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा छन् : आईजीपी कार्की
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार १७:४२
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’मा छन् : आईजीपी कार्की

काठमाडौं : प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटनाहरू प्रहरी संगठनको ‘इन्स्टिच्युसनल मेमोरी’मा सुरक्षित रहने भएकाले अपराधमा संलग्न व्यक्तिलाई जुनसुकै बेला कानुनी दायरामा ल्याइने बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा आईजीपी कार्कीले दशकौं पुराना घटनामा समेत अनुसन्धान गरी संलग्न व्यक्तिलाई पक्राउ गरेर कानुनी कारबाही गर्दै आएको बताए। लामो इतिहास बोकेको प्रहरी संगठनले आपराधिक घटनालाई नबिर्सने उनको भनाइ छ।

ADVERTISEMENT

‘व्यक्तिको स्मरण छोटो समयमै समाप्त हुन सक्छ। तर प्रहरी व्यक्तिको न्यायका लागि निरन्तर लडिरहने संस्था हो। यो संस्थाले त्यस्ता घटनाहरू बिर्सँदैन,’ उनले भने।

यद्यपि, पुराना आपराधिक घटनाको अनुसन्धानमा अपेक्षित सफलता हासिल गर्न अझै चुनौती रहेको उनले स्वीकार गरे। पुराना घटनाको अध्ययन, प्रमाण संकलन र निरन्तर अनुसन्धानमार्फत दोषीलाई कानुनी दायरामा ल्याउने काम भइरहेको उनले बताए।

चर्चित तथा जघन्य प्रकृतिका पुराना घटनाको अनुसन्धानका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिँदै कार्कीले केही घटनामा उल्लेखनीय सफलता प्राप्त भएको बताए। उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत समेत पुराना जघन्य अपराधको अनुसन्धान भइरहेको छ।

‘हामी नयाँ र पुराना मुद्दालाई सँगसँगै अनुसन्धान गर्दै अघि बढिरहेका छौं,’ उनले भने।

आईजीपी कार्कीले बदलिँदो समाज, प्रविधि र अपराधको शैलीका कारण प्रहरीसामु सुरक्षा चुनौती थपिँदै गएको बताए। परम्परागत अनुसन्धान पद्धतिले मात्र आधुनिक अपराध नियन्त्रण गर्न नसकिने भन्दै उनले प्रहरीको अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिए।

प्रहरी कर्मचारीको कार्यसम्पादन सुधारका लागि पछिल्लो समय कार्यसम्पादन सूचक तयार गरिएको उनले बताए। ‘यो पूर्वानुमानयोग्य प्रणाली हो। कामका आधारमा मूल्याङ्कन हुन्छ र त्यसले व्यक्तिलाई आफ्नो कार्यशैली सुधार्ने अवसर दिन्छ,’ उनले भने।

प्रहरी सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई प्रहरी कार्यालयसम्म धाउनुपर्ने बाध्यता कम गर्ने प्रयास भइरहेको पनि कार्कीले बताए। घरबाटै आवेदन तथा निवेदन दिन र त्यसको अवस्थाबारे जानकारी लिन सकिने प्रणाली विकास गरिएको उनको भनाइ छ।

पछिल्लो समय प्रविधिजन्य तथा आर्थिक अपराधका घटना बढ्दै गएको उल्लेख गर्दै उनले यस्ता अपराधको अनुसन्धानका लागि आवश्यक जनशक्ति भर्ना तथा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याए।

विश्वव्यापी रूपमा फैलिएको अपराध सञ्जाल नियन्त्रणका लागि विभिन्न देशका प्रहरी संगठन तथा इन्टरपोलमार्फत विशिष्टीकृत अनुसन्धान इकाइसँग समन्वय भइरहेको उनले बताए।

‘नेपाल प्रहरीले आधुनिक पुलिसिङका मापदण्ड अवलम्बन गर्दै अन्य मुलुकका विशिष्ट प्रहरी संगठनका सदस्यसँग समन्वय गरिरहेको छ,’ कार्कीले भने।

प्रविधिको प्रयोगबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम बन्दै गएको विश्वास व्यक्त गर्दै उनले शान्ति, सुव्यवस्था र नागरिकको जीउधनको सुरक्षाका लागि आमनागरिकको सहयोग आवश्यक रहेको बताए।

‘प्रहरीलाई प्राप्त जिम्मेवारीमा सफलता हासिल गर्न आमनागरिकको सहयोग सदैव अपेक्षित छ। आपराधिक प्रवृत्ति भएका व्यक्तिबारे प्रहरीलाई सूचना दिएर सहयोग गर्न आग्रह गर्दछु,’ उनले भने।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १७:४२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !