रवि लामिछानेको चीन भ्रमण तत्काललाई स्थगित, सांसदको टोली भने जाँदै

रवि लामिछानेको चीन भ्रमण तत्काललाई स्थगित, सांसदको टोली भने जाँदै
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार १३:०७
रवि लामिछानेको चीन भ्रमण तत्काललाई स्थगित, सांसदको टोली भने जाँदै

काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ।

लामिछाने यही भदौ पहिलो साता चीन जाने तयारीमा थिए। यसअघि उनी भदौ ७ देखि १४ गतेसम्म (अगस्ट २३ देखि ३०) चीन भ्रमणमा जाने कार्यक्रम तय भएको थियो। तर पछिल्लो परिस्थितिका कारण भ्रमण हाललाई रोकिएको हो।

ADVERTISEMENT

भ्रमणको नयाँ मिति भने अहिलेसम्म तय भइसकेको छैन। स्रोतका अनुसार लामिछाने अब असोज अर्थात् मध्य सेप्टेम्बरतिर चीन जाने सम्भावना रहेको छ।

लामिछानेले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तयारी थियो। प्रतिनिधिमण्डलले बेइजिङ हुँदै तिब्बतको कैलाश मानसरोवरसम्म भ्रमण गर्ने तालिका बनाइएको थियो।

चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता नहुने तथा नेपालभित्रको राजनीतिक परिस्थिति पनि केही परिवर्तन भएकाले लामिछानेले तत्कालका लागि भ्रमण स्थगित गरेको स्रोतहरूको दाबी छ।

लामिछानेनिकट एक नेताले भ्रमण पूर्ण रूपमा स्थगित भएको नभई नयाँ मिति निश्चित नभएको बताए। उनका अनुसार सभापति लामिछाने चीन कहिले जाने भन्ने विषयमा अहिले नै यकिन भइसकेको छैन।

यसैबीच, रास्वपाका सांसदसहितको पाँच सदस्यीय टोली भने चीन भ्रमणमा जाने भएको छ। बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन टोली भदौ ८ गते चीन जाने कार्यक्रम तय भएको हो।

सातदिने भ्रमणका लागि जाने टोलीको नेतृत्व प्रतिनिधिसभाका रास्वपा सांसद कमल सुवेदीले गर्नेछन्। टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी र किरणबाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी तथा संघीय संसद्का उपसचिव शारदा भण्डारी रहनेछन्।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार १३:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !