इराकी तेल ट्यांकरलाई हर्मुज जलमार्ग पार गर्न अनुमति

इराकी तेल ट्यांकरलाई हर्मुज जलमार्ग पार गर्न अनुमति
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ७, आईतवार ०९:०५
इराकी तेल ट्यांकरलाई हर्मुज जलमार्ग पार गर्न अनुमति

काठमाडौं : बगदादको पटक–पटकको अनुरोधपछि इरानले केही इराकी तेल ट्यांकरलाई रणनीतिक हर्मुज जलमार्ग पार गर्न अनुमति दिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएको छ।

इरानी समाचार संस्था इर्नाका अनुसार अमेरिकासँगको तनावका कारण हर्मुज जलमार्गमा कडा सुरक्षा व्यवस्था रहे पनि पछिल्लो छ महिनामा केही इराकी तेल ट्यांकरलाई जलमार्ग पार गर्न अनुमति दिइएको हो।

ADVERTISEMENT

रिपोर्टअनुसार इराकले आफ्ना तेल ट्यांकरको आवागमन सहज बनाउन विभिन्न माध्यमबाट इरानसँग अनुमति माग्दै आएको थियो। इरानी सभामुख तथा अमेरिकासँगको वार्ताका प्रमुख वार्ताकार मोहम्मद बागेर गालिबाफको इराक भ्रमणका क्रममा पनि यस विषयमा अनुरोध गरिएको थियो।

मध्यपूर्वमा फेब्रुअरी २८ देखि युद्ध सुरु भएपछि इरानले हर्मुज जलमार्गमाथि आफ्नो नियन्त्रण रहेको दाबी गर्दै आएको छ। जलमार्ग प्रयोग गर्नुअघि जहाजले इरानबाट अनुमति लिनुपर्ने र पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको बताइएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गरेका छन्। युद्धअघि विश्वको करिब पाँच भागको एक भाग तेल तथा एलएनजी यही जलमार्ग हुँदै निर्यात हुने गरेको थियो।

इर्नाका अनुसार इराक आफ्नो अधिकांश कच्चा तेल निर्यातका लागि हर्मुज जलमार्गमा निर्भर छ। त्यसैले इराकी अधिकारीहरूले आफ्ना थप तेल ट्यांकरलाई जलमार्ग पार गर्न अनुमति दिन इरानी अधिकारीसँग लगातार अनुरोध गरिरहेका छन्।

यसैबीच इरान र ओमानले हर्मुज हुँदै नयाँ मार्ग सञ्चालन गर्ने विषयमा छलफल गरिरहेका छन्। तर उक्त वार्ता अझै टुंगिएको छैन। इरानले अमेरिकाले आफ्ना व्यापक माग पूरा नगरेसम्म नयाँ मार्ग बने पनि जलमार्ग पूर्ण रूपमा खुला नहुने बताउँदै आएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ७, आईतवार ०९:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !