बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफलमा मेयर र सांसद आशिका तामाङबीच चर्काचर्की

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफलमा मेयर र सांसद आशिका तामाङबीच चर्काचर्की
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार १७:१०
बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफलमा मेयर र सांसद आशिका तामाङबीच चर्काचर्की

काठमाडौं : बञ्चरेडाँडामा फोहोर व्यवस्थापनका विषयमा आयोजित छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरूबीच चर्काचर्की भएको छ।

सञ्चारमन्त्री विक्रम तिमल्सिनाको पहलमा सिंहदरबारमा काठमाडौं उपत्यकासहित बञ्चरेडाँडा क्षेत्रका प्रभावित स्थानीय तहका जनप्रतिनिधिलाई बोलाएर फोहोर व्यवस्थापनबारे छलफल आयोजना गरिएको थियो। छलफलमा सांसद तामाङ पनि सहभागी थिइन्।

ADVERTISEMENT

बैठकमा फोहोर व्यवस्थापनका क्रममा बञ्चरेडाँडा क्षेत्रका स्थानीयले भोग्दै आएका समस्या, स्थानीय तहको भूमिका र दीर्घकालीन समाधानका विषयमा छलफल भइरहेका बेला तामाङ र जनप्रतिनिधिबीच भनाभन भएको हो।

चर्काचर्की बढेपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलगायत जनप्रतिनिधिले सांसद तामाङलाई सम्झाउने प्रयास गरेका थिए। तर, तामाङ भने थप आक्रोशित बनेकी थिइन्।

मेयर महर्जनले तामाङलाई ‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?’ भन्दै प्रश्न गरेका थिए। त्यसको जवाफमा तामाङले ‘आउनु पर्‍यो नि’ भनेकी थिइन्।

त्यसपछि महर्जनले ‘आउँदै हुनुहुन्छ त’ भन्दै जवाफ फर्काएका थिए। लगत्तै तामाङले ‘बञ्चरेडाँडाका मान्छे होइन ?’ भन्दै प्रश्न गरेकी थिइन्।

तामाङले बञ्चरेडाँडा क्षेत्रका स्थानीयको समस्या समाधानमा स्थानीय सरकार गम्भीर नभएको आरोप लगाएकी थिइन्। फोहोर व्यवस्थापनका कारण प्रभावित स्थानीयको समस्या लामो समयदेखि कायम रहे पनि त्यसको समाधानका लागि पर्याप्त पहल नभएको उनको भनाइ थियो।

बैठकमा विवाद बढेपछि तामाङले भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनीसमेत दिएकी थिइन्। त्यसपछि उनी बैठक छाडेर बाहिरिएकी थिइन्।

बञ्चरेडाँडा काठमाडौं उपत्यकाको प्रमुख फोहोर विसर्जनस्थलका रूपमा प्रयोग हुँदै आएको छ। तर, लामो समयदेखि स्थानीय बासिन्दाले फोहोर व्यवस्थापनको वैज्ञानिक प्रणाली, वातावरणीय असर न्यूनीकरण, स्वास्थ्य सुरक्षा तथा पूर्वाधार विकासलगायत विषयमा विभिन्न माग राख्दै आएका छन्।

फोहोर विसर्जनस्थल प्रभावित क्षेत्रका स्थानीय र काठमाडौं उपत्यकाका स्थानीय तहबीच पटक–पटक विवाद हुँदै आएको छ। फोहोर व्यवस्थापनको विषयमा दीर्घकालीन समाधान खोज्न सरकार र स्थानीय तहबीच समन्वय आवश्यक रहेको बताइँदै आए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको छैन।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १७:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !