रास्वपाको महत्त्वपूर्ण बैठक छाडेर वरिष्ठ नेता बालेन पोखरा प्रस्थान

रास्वपाको महत्त्वपूर्ण बैठक छाडेर वरिष्ठ नेता बालेन पोखरा प्रस्थान
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ५, शुक्रबार १२:११
रास्वपाको महत्त्वपूर्ण बैठक छाडेर वरिष्ठ नेता बालेन पोखरा प्रस्थान

काठमाडौं : सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बसिरहेका बेला पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पोखरा प्रस्थान गरेका छन्।

रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ। बैठकमा विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय प्रमुख मनोनयनलगायतका विषयमा निर्णय हुने तयारी छ। तर प्रधानमन्त्री शाह भने बैठकअघि नै गाडीमार्फत पोखरातर्फ लागेका हुन्।

ADVERTISEMENT

शाह पोखरा गएपछि आजको केन्द्रीय समिति बैठकमा उनी सहभागी नहुने भएका छन्। पार्टीले पहिलो महाधिवेशनपछि गत साउन १३ गते उनलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो। उनी रास्वपा संसदीय दलका नेतासमेत हुन्।

यसअघि उनलाई वरिष्ठ नेता बनाउने निर्णय भएको दिन पनि शाह पार्टीको बैठकमा सहभागी भएका थिएनन्।

काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि गत पुस १३ गते शाह आफ्ना समर्थकसहित रास्वपामा एकताबद्ध भएका थिए। त्यसबेला पनि उनलाई पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी दिइएको थियो।

शाह रास्वपामा आबद्ध भएपछि पार्टीले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ठूलो सफलता हासिल गरेको थियो। निर्वाचनपछि रास्वपाले बहुमतको सरकार गठन गरेको छ।

आजको केन्द्रीय समिति बैठकलाई पार्टीको आगामी संगठनात्मक संरचना र जिम्मेवारी बाँडफाँटको दृष्टिले महत्त्वपूर्ण मानिएको छ। यस्तो बैठकमा पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता शाहको अनुपस्थितिलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: २०८३ भाद्र ५, शुक्रबार १२:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !