बागमतीमा सरकार गठनका लागि राप्रपाको निर्णय पर्खँदै एमाले–नेकपा

बागमतीमा सरकार गठनका लागि राप्रपाको निर्णय पर्खँदै एमाले–नेकपा
मधेशपत्र मधेशपत्र २०८३ भाद्र ३, बुधबार १२:१८
बागमतीमा सरकार गठनका लागि राप्रपाको निर्णय पर्खँदै एमाले–नेकपा

हेटौंडा : बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले तयारी तीव्र बनाएका छन्। सरकार गठनका लागि आवश्यक समर्थन जुटाउन दुवै दलले अन्य दलसँग छलफल अघि बढाएका छन्।

बुधबार एमाले र नेकपाबीच सरकार गठनका लागि दाबी पेस गर्ने तथा अन्य दलको समर्थन जुटाउने विषयमा औपचारिक छलफल भएको छ।

ADVERTISEMENT

प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरिसकेका छन्। उनले भदौ ४ गते अपराह्न ४ बजेसम्मको समय दिएका छन्। सोही समयसीमाभित्र सरकार गठनको दाबी पेस गर्ने तयारी एमाले र नेकपाले गरेका छन्।

तर सरकार गठनमा निर्णायक देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्णय भने अझै आएको छैन। एमाले र नेकपा राप्रपाको समर्थनको प्रतीक्षामा छन्।

एमाले सांसद तथा वार्ता समिति सदस्य भरत केसीले राप्रपाको निर्णयपछि सरकार गठनको दाबी पेस गरिने बताए। उनका अनुसार राप्रपासँग आवश्यक छलफल भइरहेको छ।

नेकपा सांसद तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले पनि राप्रपाको समर्थन जुटाउन एमालेसँग आग्रह गरिएको बताए। उनका अनुसार नेकपा सरकार गठनका लागि आवश्यक सबै प्रक्रिया अघि बढाउन तयार रहेको जानकारी एमाले नेतृत्वलाई गराइएको छ।

राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले भने पार्टीभित्र सरकार गठनबारे छलफल भइरहेको बताएका छन्। बागमती प्रदेशसभामा राप्रपाका १२ सांसद छन्। पार्टीले यसअघि थापालाई सत्ता केन्द्रित गतिविधिमा संलग्न नहुन निर्देशन दिइसकेको थियो।

एमाले र नेकपाबीचको गठबन्धनमा बागमती सरकारको नेतृत्व एमालेले गर्ने सहमति भइसकेको छ। एमाले प्रदेश संसदीय दलको बैठकले दलका नेता जगन्नाथ थपलियालाई यथावत् राख्दै भक्तपुरका सांसद किरण थापा मगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ।

यसअघि एमालेभित्र मुख्यमन्त्रीको विषयलाई लिएर विवादसमेत भएको थियो। थपलियालाई संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्तावसमेत दर्ता भएको थियो। सरकार गठनका लागि अन्य दलसँग वार्ता गर्न एमालेले थापाको संयोजकत्वमा समिति पनि गठन गरेको छ।

१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेपाल मजदुर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।

हालको अंकगणितअनुसार एमाले र नेकपाका सांसद मात्रै जोड्दा ५१ पुग्छन्। बहुमतका लागि थप दुई सांसद आवश्यक पर्ने भएकाले राप्रपाको समर्थन सरकार गठनका लागि निर्णायक बनेको हो।

प्रकाशित मिति: २०८३ भाद्र ३, बुधबार १२:१८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !