सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफल: एमाले सांसद राईन

सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफल: एमाले सांसद राईन
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १, सोमबार १९:०७
सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफल: एमाले सांसद राईन

काठमाडौं : नेकपा (एमाले) का सांसद मोहम्मद इस्तियाक राईनले वर्तमान सरकार जनसरोकारका आधारभूत समस्या समाधान गर्न र संसदीय गरिमा कायम राख्न असफल भएको आरोप लगाएका छन्।

सोमबार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले सरकारको कार्यशैली र जनस्वास्थ्यका विषयमा सरकारको उदासिनताप्रति आलोचना गरेका हुन्।

ADVERTISEMENT

संसद्मा गणपूरक संख्या (कोरम) नपुग्नु र संविधान बमोजिम विधेयकहरू पारित हुन नसक्नुमा सरकार र सत्तापक्ष नै मुख्य जिम्मेवार रहेको उनको तर्क छ।

सांसद राईनले आम नागरिकले दैनिक जीवनमा भोगिरहेका गम्भीर समस्याहरूतर्फ सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार बजारमा खाना पकाउने ग्यासको अभाव हुनुका साथै अस्पतालहरूमा रेबिज र सर्पदंश विरुद्धको खोप समेत उपलब्ध छैन।

उनले भने, ‘क्यान्सर जस्तो जटिल रोगका बिरामीहरूका लागि किमोको समेत उचित व्यवस्था छैन। सरकारले १०० दिनको समय मागेको थियो, तर ती सय दिनमा आम नागरिकले सास्ती बाहेक केही पाउन सकेनन्। नयाँ भनिएकाहरूले पनि पुरानाले गरेका कामको शिलालेख उखेलेर आफ्नो नाम राख्ने बाहेक कुनैपनि नयाँ राष्ट्रिय गौरवका आयोजना शुरु गर्न सकेका छैनन्।’

नयाँ राजनीतिक शक्तिहरूतर्फ संकेत गर्दै उनले विगतमा पुराना दलहरूलाई आलोचना गर्नेहरूले पनि अहिले उस्तै प्रवृत्ति देखाएको टिप्पणी गरे।

प्रकाशित मिति: २०८३ भाद्र १, सोमबार १९:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !