उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री गुरुङ

उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री गुरुङ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २९, शुक्रबार १४:२०
उजुरीकै भरमा दोषी करार गर्न मिल्दैन : गृहमन्त्री गुरुङ

काठमाडौं : प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीलाई लिएर रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रमुखसहितका अधिकारीमाथि प्रश्न उठाएपछि गृहमन्त्री सुधन गुरुङले आपत्ति जनाएका छन्।

सार्वजनिक लेखा समितिको गत बुधबार बसेको बैठकमा सांसद सुनारले प्रहरी सामग्री खरिदमा परेको उजुरीको विषयलाई चर्को रूपमा उठाएका थिए। उक्त बैठकमा गृहमन्त्री गुरुङ भने उपस्थित थिएनन्।

ADVERTISEMENT

शुक्रबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उपस्थित भएका गृहमन्त्री गुरुङले सार्वजनिक लेखा समितिमा प्रहरी प्रमुख तथा गृह मन्त्रालयका अधिकारीहरूमाथि गरिएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे।

‘मेरो गैरउपस्थितिमा हाम्रो सचिवज्यू, सहसचिवज्यूहरू र प्रहरी प्रमुखलाई जसरी समितिमा प्रस्तुत गर्नुभयो, त्यसप्रति गृहमन्त्रीको ध्यानाकर्षण भएको छ,’ उनले भने, ‘दिस इज नट राइट, दिस इज नट गुड।’

गुरुङले कुनै व्यक्तिविरुद्ध परेको उजुरीकै आधारमा उसलाई दोषी करार गर्न नमिल्ने बताए। आरोप पुष्टि नभएसम्म कसैको चरित्रमाथि प्रश्न उठाउनु उचित नहुने उनको भनाइ थियो।

‘कसैलाई उजुरीको भरमा हामी न्यायाधीश बन्न मिल्दैन। आरोप जोसुकैले पनि लगाउन सक्छ। त्यसको आधारमा कसैको चरित्र हत्या गर्न पाइँदैन,’ सांसद सुनारतर्फ संकेत गर्दै उनले भने, ‘इट इज नट गुड। यस विषयमा गृह मन्त्रालयको पनि ध्यानाकर्षण भएको छ। वि आर नट ह्याप्पी अबाउट इट।’

गृहमन्त्री गुरुङले गृह प्रशासनअन्तर्गतका कर्मचारी र प्रहरी अधिकारीहरूले सरकारको भावनाअनुसार काम गरिरहेको दाबी गरे।

‘हाम्रा कर्मचारीहरूले जसरी काम गर्नुभएको छ, मिहिनेत गर्नुभएको छ, त्यसको म प्रत्यक्षदर्शी छु। आईजी साबहरूले जसरी काम गर्नुभएको छ, त्यसको पनि म प्रत्यक्षदर्शी छु,’ उनले भने, ‘उहाँहरू विशेषगरी यो सरकारको स्पिरिटअनुसार काम गर्न दिनरात खटिनुभएको छ। यसमा दुई मत छैन।’

उनले आरोप लगाउन सहज भए पनि त्यसको पुष्टि नभएसम्म कुनै व्यक्तिलाई दोषीका रूपमा प्रस्तुत गर्नु उचित नहुने बताए।

‘आरोप लगाउन जोसुकैले पनि सक्छ, तर त्यो पुष्टि नभएसम्म कसैलाई दोषी करार गरेर समितिमार्फत त्यस्तो व्यवहार गर्नु राम्रो होइन,’ गुरुङले भने।

प्रकाशित मिति: २०८३ श्रावण २९, शुक्रबार १४:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !