बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २५, सोमबार १५:३०
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट राजु पासवान सम्मानित

राजविराज : मानव अधिकार, सामाजिक न्याय तथा समुदाय सशक्तीकरणका क्षेत्रमा लामो समयदेखि सक्रिय सप्तरीको शम्भुनाथ नगरपालिका–१, कचन्दाहाका राजु पासवानलाई बैद्य–प्रकाश मानव अधिकार पुरस्कार–२०८३ बाट सम्मान गरिएको छ।

३४औँ प्रकाश स्मृति दिवसको अवसरमा सोमबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा पासवानलाई नगद ११ हजार ५ सय रुपैयाँसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको हो।

ADVERTISEMENT

कार्यक्रममा मधेस प्रदेश सभाका सभामुख राम आशिष यादव प्रमुख अतिथि तथा उच्च अदालत जनकपुर, राजविराज इजलासका मुख्य न्यायाधीश सुभाष पौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

इन्सेक मधेस प्रदेशका संयोजकसमेत रहेका पासवानले विगत साढे दुई दशकदेखि मानव अधिकार, सामाजिक न्याय र समुदाय सशक्तीकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन्। विभेद तथा हिंसाबाट प्रभावित समुदायको अधिकार संरक्षण, पीडितको उद्धार तथा पुनर्स्थापना, कानुनी पैरवी र सामाजिक न्यायको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै उनलाई यस वर्षको पुरस्कार प्रदान गरिएको हो।

बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोषको साउन १४ गते बसेको बैठकले पासवानलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो। इन्सेकबाट ‘२१औँ प्रकाश मानव अधिकार पुरस्कार’ प्राप्त गरेका प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले पुरस्कारबापत प्राप्त ५० हजार रुपैयाँबाट उक्त कोष स्थापना गरेका थिए।

कोषले २०७३ सालदेखि प्रत्येक वर्ष मानव अधिकार, नागरिक अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने एक जना व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ।

यसै अवसरमा उर्मिलादेवी झा स्मृति मैथिली लोकगीत गायन पुरस्कार–२०८३ बाट शीलमदेवी झा सम्मानित भएकी छन्।

राजगढ गाउँपालिकाकी झा हाल राजविराज नगरपालिका–६ मा बसोबास गर्दै आएकी छन्। मैथिली भाषा, लोककला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लोकगायनमार्फत पुर्‍याएको योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाले आफ्नी भाइबुहारी स्वर्गीय उर्मिलादेवी झाको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशि २ हजार ५ सय रुपैयाँ रहेको छ।

मैथिली महिला परिषद्को सिफारिसका आधारमा शीलमदेवी झालाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको बैद्यनाथ झाले जानकारी दिए।

उनका अनुसार स्वर्गीय उर्मिलादेवी झाको स्मृतिमा प्रत्येक वर्ष मधुश्रावणी पर्वको अवसरमा मैथिली लोकगीत गायन क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई उक्त पुरस्कार प्रदान गरिँदै आएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २५, सोमबार १५:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !