स्वर्णिमलाई रास्वपामा ल्याउन भूमिका खेलेका श्रीरामले भने– अर्थनीति कागजी सूत्र होइन

स्वर्णिमलाई रास्वपामा ल्याउन भूमिका खेलेका श्रीरामले भने– अर्थनीति कागजी सूत्र होइन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २४, आईतवार १४:०३
स्वर्णिमलाई रास्वपामा ल्याउन भूमिका खेलेका श्रीरामले भने– अर्थनीति कागजी सूत्र होइन

काठमाडौं : डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गराउन भूमिका खेलेका श्रीराम न्यौपानेले अर्थमन्त्री वाग्लेको आर्थिक नीतिमाथि प्रश्न उठाएका छन्।

न्यौपानेले सामाजिक सञ्जालमार्फत अर्थनीति कागजी सूत्रमा सीमित नभई जनजीवन, संविधानको मर्म र देशको वास्तविकतासँग जोडिनुपर्ने बताएका छन्।

ADVERTISEMENT

२०८० वैशाखमा भएको तनहुँ–१ को उपनिर्वाचनअघि वाग्लेलाई रास्वपामा प्रवेश गराउन न्यौपानेले महत्वपूर्ण भूमिका खेलेका थिए। त्यतिबेला न्यौपानेले वाग्लेलाई तनहुँ–१ निर्वाचन क्षेत्रको अवस्थाबारे जानकारी गराउँदै क्षेत्र घुमाएका थिए। क्षेत्रको अवस्था बुझेपछि वाग्ले कांग्रेस परित्याग गरी रास्वपाबाट चुनाव लड्ने निर्णयमा पुगेका थिए।

यसपटकको निर्वाचनमा वाग्ले सोही क्षेत्रबाट पुनः निर्वाचित भएका छन् भने न्यौपाने तनहुँ–२ बाट निर्वाचित भएका छन्। एउटै जिल्लाका दुई निर्वाचन क्षेत्रबाट निर्वाचित वाग्ले र न्यौपानेबीच पछिल्लो समय सम्बन्धमा दूरी बढेको उनीहरूका निकटस्थहरू बताउँछन्।

सम्बन्धमा दरार आएपछि न्यौपानेले वाग्लेको कार्यक्षमतामाथि समेत प्रश्न उठाउँदै आएका छन्।

न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानको भावना र नेपाली यथार्थ विपरीत गरिएको प्रयोगपछि जनदबाबका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा ३ प्रतिशत समता कर छुट दिने निर्णय भयो।’

उनले थप लेखेका छन्, ‘यसले देखाउँछ– अर्थनीति कागजी सूत्र होइन, जनजीवन, संविधानको मर्म र देशको वास्तविकतामा अडिएको हुनुपर्छ।’

न्यौपानेको यो अभिव्यक्तिलाई अर्थमन्त्री वाग्लेको आर्थिक नीतिप्रति उनको असन्तुष्टिका रूपमा हेरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २४, आईतवार १४:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !