सरकार र हिन्दुवादी सङ्गठनबीचको वार्ता निष्कर्षविहीन, रास्वपाले भ्रम फैलाएको आरोप

सरकार र हिन्दुवादी सङ्गठनबीचको वार्ता निष्कर्षविहीन, रास्वपाले भ्रम फैलाएको आरोप
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार २३:५३
सरकार र हिन्दुवादी सङ्गठनबीचको वार्ता निष्कर्षविहीन, रास्वपाले भ्रम फैलाएको आरोप

जनकपुरधाम : सरकार र हिन्दु सम्राट सेना नेपालबीच भएको वार्तापछि ‘सहमति भएको’ भन्ने सरकारी दाबीलाई हिन्दु सम्राट सेना नेपालले अस्वीकार गरेको छ। संगठनले कुनै औपचारिक सहमति नभएको स्पष्ट पार्दै पूर्वघोषित बन्दसहितका आन्दोलनका कार्यक्रम यथावत् रहने जनाएको छ।

शनिबार धनुषा जिल्ला प्रशासन कार्यालयमा सरकार र विभिन्न हिन्दुवादी सङ्गठनबीच दुई चरणमा वार्ता सम्पन्न भएपछि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले दुवै पक्षबीच सहमति भएको बताएका थिए। तर हिन्दु सम्राट सेना नेपालले उक्त दाबीलाई असत्य भन्दै सरकारलाई बुझाइएको १३ बुँदे मागपत्रलाई नै सहमति भएको रूपमा प्रचार गरिएको आरोप लगाएको छ।

ADVERTISEMENT

मधेशपत्रसँग कुरा गर्दै हिन्दु सम्राट सेना नेपालका महासचिव राकेश सनातनीले कुनै सहमतिपत्रमा हस्ताक्षर नभएको र वार्ता निष्कर्षमा नपुगेको बताए।

 “हामीले सरकारलाई बुझाएको १३ बुँदे मागपत्रलाई नै सहमति भएको भनेर प्रचार गरिएको छ। कुनै सहमति भएको छैन। त्यसैले बन्दसहितका आन्दोलनका कार्यक्रम फिर्ता हुँदैनन्,” उनले भने।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही नेता तथा कार्यकर्ताले पनि सहमति भएको भन्दै भ्रामक प्रचार गरेको आरोप लगाए।

यता, वार्तामा सहभागी गृहमन्त्री सुधन गुरुङले भने सहमति भएको वा नभएको विषयमा स्पष्ट टिप्पणी गर्न चाहेनन्। मधेशपत्रको जिज्ञासामा उनले, “देशमा अब कुनै प्रकारको धार्मिक द्वन्द्व हुनु हुँदैन,सबै जना मिलेर बस्नुपर्छ” भन्ने संक्षिप्त प्रतिक्रिया दिए।

सरकार र संयुक्त हिन्दु मोर्चाबीच पहिलो चरणको वार्ता शनिबार दिउँसो २:३० बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो। त्यसपछि राति ८ बजेदेखि १० बजेसम्म मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको उपस्थितिमा दोस्रो चरणको वार्ता भएको थियो।

दुई चरणको वार्ता सम्पन्न भए पनि औपचारिक सहमतिपत्रमा हस्ताक्षर नभएको हिन्दु सम्राट सेना नेपालले जनाएको छ। अर्कोतर्फ प्रमुख जिल्ला अधिकारीले सहमति भएको दाबी गरेका छन्। यससँगै वार्ताको वास्तविक परिणामबारे सरकारी पक्ष र आन्दोलनरत पक्षबीच फरक–फरक दाबी सार्वजनिक भएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार २३:५३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !