मधेशमा धान रोपाइँ ९१.५५ प्रतिशत, सिरहामा शतप्रतिशत सम्पन्न

मधेशमा धान रोपाइँ ९१.५५ प्रतिशत, सिरहामा शतप्रतिशत सम्पन्न
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १८:३८
मधेशमा धान रोपाइँ ९१.५५ प्रतिशत, सिरहामा शतप्रतिशत सम्पन्न

जनकपुरधाम : मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। अनुकूल मौसम र पर्याप्त सिँचाइ सुविधाका कारण प्रदेशभर हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।

मधेश प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशभर तीन लाख ५० हजार ११८.८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको छ। प्रदेशमा यस वर्ष कुल तीन लाख ८२ हजार ४३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ।

ADVERTISEMENT

आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। जिल्लाको ५४ हजार हेक्टर धान खेतीयोग्य क्षेत्रफलमा पूर्ण रूपमा रोपाइँ सकिएको बागबानी अधिकृत किरण विश्वकर्माले जानकारी दिए।

यस्तै, सप्तरीमा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। ६८ हजार हेक्टर खेतीयोग्य क्षेत्रमध्ये हालसम्म ६१ हजार २०० हेक्टर क्षेत्रमा रोपाइँ गरिएको छ।

धनुषामा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। ४३ हजार ९०० हेक्टर खेतीयोग्य क्षेत्रमध्ये ३७ हजार ३१५ हेक्टर क्षेत्रमा धान रोपिएको निर्देशनालयले जनाएको छ।

त्यसैगरी महोत्तरीमा ७४.७७ प्रतिशत, सर्लाहीमा ९४ प्रतिशत, रौतहटमा ९३ प्रतिशत, बारामा ९५ प्रतिशत र पर्सामा ९१ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ।

कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष समयमै वर्षा हुनुका साथै सिँचाइको सहज उपलब्धताले अधिकांश जिल्लामा धान रोपाइँ सन्तोषजनक रूपमा अघि बढेको छ। अब बाँकी क्षेत्रमा पनि केही दिनभित्र रोपाइँ सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १८:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !