देवानगञ्ज र गोलबजार घटनापछि जनकपुरमा सद्भाव र्‍याली, शान्ति कायम गर्न सबैको आह्वान

देवानगञ्ज र गोलबजार घटनापछि जनकपुरमा सद्भाव र्‍याली, शान्ति कायम गर्न सबैको आह्वान
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १६, शनिबार १२:३८
देवानगञ्ज र गोलबजार घटनापछि जनकपुरमा सद्भाव र्‍याली, शान्ति कायम गर्न सबैको आह्वान

जनकपुरधाम : सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजार घटनापछि उत्पन्न तनावका बीच धनुषाको जनकपुरधाममा शनिबार हिन्दु–मुस्लिम एकता र सामाजिक सद्भावको सन्देश दिँदै सद्भाव र्‍याली आयोजना गरिएको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलको नेतृत्वमा जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भएको र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेको थियो। र्‍यालीमा ‘हिन्दु–मुस्लिम भाइ–भाइ, राष्ट्रिय एकता जिन्दावाद’ लगायतका नाराहरू लगाइएको थियो।

ADVERTISEMENT

र्‍यालीमा प्रतिनिधिसभा सदस्य मातृका प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राम बिनोद यादव,मनिष झा,प्रदेश सभा सदस्य रत्नेश्वर लाल गोइतसहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीका सुरक्षा अधिकारी, नागरिक समाज, मानवअधिकारकर्मी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

देवानगञ्ज घटनापछि जिल्लाको शान्ति–सुरक्षा अवस्थालाई ध्यानमा राख्दै धनुषा प्रशासनले बिहीबारदेखि कर्फ्यु आदेश जारी गरेको छ। त्यसैक्रममा जिल्ला प्रशासन कार्यालयले शुक्रबार सर्वपक्षीय छलफल आयोजना गरेको थियो। उक्त छलफलको निष्कर्षअनुसार सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले शनिबार बिहान सद्भाव र्‍याली निकालिएको प्रशासनले जनाएको छ।

साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच झडप भएको थियो। घटनाका क्रममा प्रहरीको गोली लागेर ओमप्रकाश मेहता र जयप्रकाश मेहता घाइते भएका थिए। त्यसपछि सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि मधेशका विभिन्न जिल्लामा तनाव बढेको थियो।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार १२:३८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !