भ्रामक सूचना फैलाउँदै मो. नैयुम राईन, प्रहरीसँग माफी माग्दै हटाए फेसबुक लाइभ

भ्रामक सूचना फैलाउँदै मो. नैयुम राईन, प्रहरीसँग माफी माग्दै हटाए फेसबुक लाइभ
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १६, शनिबार ००:१४
भ्रामक सूचना फैलाउँदै मो. नैयुम राईन, प्रहरीसँग माफी माग्दै हटाए फेसबुक लाइभ

जनकपुरधाम : सिरहा नगरपालिका–१२ का युवा अभियन्ता भनिने मोहम्मद नैयुम राईनले शुक्रबार राति अन्दाजी ९:३० बजे फेसबुक लाइभमार्फत गाउँमा अज्ञात समूहले आक्रमण गरिरहेको दाबी गर्दै सार्वजनिक गरेको भिडियो भ्रामक रहेको प्रहरीले जनाएको छ। राईनले गए राती  गाउँमा अज्ञात समूह प्रवेश गरी आक्रमण गरिरहेको, स्थानीय त्रसित भएको तथा प्रहरी र प्रशासनसँग सम्पर्क हुन नसकेको दाबी गर्दै फेसबुक लाइभ गरेका थिए। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको थियो। पछि उनले उक्त भिडियो हटाएका छन्।सारसर

यस विषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले भिडियोमा गरिएको दाबी सत्य नभएको बताए। उनका अनुसार घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली परिचालन गरी स्थलगत निरीक्षण गर्दा कुनै पनि प्रकारको अवाञ्छित गतिविधि फेला नपरेको र त्यसबारे प्रहरीले प्रेस विज्ञप्ति जारी गरेर पनि स्पष्ट पारिसकेको बताए। “सामाजिक सञ्जालमार्फत भ्रम फैलाउने कार्य भइरहेको छ। तथ्य पुष्टि नगरी यस्ता सामग्री सार्वजनिक नगर्न सबैमा आग्रह गर्दछौं,” डीएसपी पालले भने।

ADVERTISEMENT

प्रहरीका अनुसार राईनलाई भिडियो हटाउन लगाइएको छ। उनले प्रहरीसँग माफी माग्दै नयाँ भिडियोमार्फत आफ्नो धारणा सार्वजनिक गरेको जानकारी पनि प्रहरीले दिएको छ।

उता, सारसर गाउँकै एक स्थानीय युवाले नाम नखुलाउने सर्तमा गाउँमा कुनै पनि अप्रिय घटना नभएको बताए। उनका अनुसार सबै अवस्था सामान्य हुँदाहुँदै आक्रमण भएको भन्दै फेसबुक लाइभ गर्नु गैरजिम्मेवारपूर्ण कार्य भएको आरोप लगाए।

“हामी गाउँमै थियौं। कुनै पनि व्यक्ति गाउँमा आएको वा आक्रमण गरेको घटना भएको थिएन। यस्तो भ्रामक सामग्रीले अनावश्यक त्रास फैलाउने र सामाजिक सद्भावमा असर पुर्‍याउने काम गर्छ,” उनले भने। उनले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न पनि माग गरेका छन्।

पछिल्लो समय सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज क्षेत्रमा देखिएको धार्मिक तनावका कारण मधेश प्रदेशका विभिन्न जिल्लामा संवेदनशील अवस्था कायम रहेको छ। केही स्थानमा निषेधाज्ञा समेत जारी गरिएकाले प्रशासनले अपुष्ट र भ्रामक सूचना सामाजिक सञ्जालमा नफैलाउन सबैसँग आग्रह गरेको छ।

प्रहरीले पुष्टि नभएका सूचना वा भिडियो साझा गर्दा सामाजिक सद्भाव, शान्ति–सुरक्षा तथा सार्वजनिक विश्वासमा नकारात्मक असर पर्न सक्ने भएकाले जिम्मेवार भएर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १६, शनिबार ००:१४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !