सिरहामा ८ घण्टादेखि गृहमन्त्रीलाई कुर्दै शोकाकुल परिवार,मन्त्री भने फोटो सेसनमा व्यस्त

सिरहामा ८ घण्टादेखि गृहमन्त्रीलाई कुर्दै शोकाकुल परिवार,मन्त्री भने फोटो सेसनमा व्यस्त
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण १५, शुक्रबार २२:०५
सिरहामा ८ घण्टादेखि गृहमन्त्रीलाई कुर्दै शोकाकुल परिवार,मन्त्री भने फोटो सेसनमा व्यस्त

जनकपुरधाम : सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारले गृहमन्त्री सुधन गुरुङको करिब आठ घण्टा प्रतीक्षा गरे पनि उनी मृतकको घरमा नपुगेपछि परिवार र स्थानीयमा असन्तुष्टि चुलिएको छ।

शुक्रबार दिउँसो करिब २ बजे गृहमन्त्री गुरुङ औरही गाउँपालिका–२ तुलसियाहीस्थित मृतक यादवको घर पुगेर परिवारसँग भेट्ने सूचना पाएपछि परिवार, आफन्त तथा स्थानीय बासिन्दा उनको प्रतीक्षामा बसेका थिए। गृहमन्त्रीको सम्भावित भ्रमणलाई लक्षित गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो। तर राति अबेरसम्म पनि उनी घटनास्थलमा नपुगेको स्थानीयले बताएका छन्।

ADVERTISEMENT

यसबीच, गृहमन्त्री लहानमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्र महतोसँग भेटघाट तथा तस्बिर खिचाउने कार्यक्रममा व्यस्त रहेको भन्दै स्थानीयले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्।

औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोधी यादवका अनुसार गृहमन्त्रीको आगमनको विरोध गर्न ठूलो सङ्ख्यामा युवाहरू मृतकको घरमा जम्मा भएका थिए। उनका अनुसार पीडित परिवारले प्रमुख जिल्ला अधिकारीमार्फत आफ्ना माग पूरा गर्ने स्पष्ट लिखित प्रतिबद्धता प्राप्त भएपछि मात्र गृहमन्त्रीसँग भेट्ने अडान राखेको थियो।

गृहमन्त्री सिरहा आएको जानकारी दिउँसै सार्वजनिक भए पनि रातिसम्म मृतकका परिवारलाई भेट्न नपुगेपछि स्थानीय आक्रोशित बनेका छन्।

स्थानीय आनन्द यादवले भने, “अब गृहमन्त्री यहाँ आउनु पर्दैन। हामीले दिउँसोदेखि पर्खियौँ, तर आउनुभएन। अहिले आएर भेट्नुको कुनै अर्थ छैन।”

बिहीबार गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही तथा पीडित परिवारलाई न्यायको माग गर्दै सिरहामा आन्दोलन जारी छ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव भने शुक्रबार दिउँसै मृतक गणेश यादवको परिवारलाई भेटेर समवेदना व्यक्त गरेका थिए।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार २२:०५
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !