धनुषामा कर्फ्यु कायमै, बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न छुट

धनुषामा कर्फ्यु कायमै, बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न छुट
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १५, शुक्रबार ०६:२९
धनुषामा कर्फ्यु कायमै, बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न छुट

जनकपुरधाम : धनुषा प्रशासनले जिल्लामा जारी कर्फ्यु आदेश यथावत् राख्दै शुक्रबार बिहान ६ बजेदेखि ८ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक उपभोग्य सामग्री खरिदका लागि आंशिक छुट दिएको छ।

शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार कर्फ्यु आदेश निरन्तर कायम रहनेछ। तर सर्वसाधारणको दैनिक जीवनलाई सहज बनाउन बिहान ६ देखि ८ बजेसम्म दूध, तरकारी, फलफूल, खाद्यान्नलगायत अत्यावश्यक वस्तु खरिद गर्न आवतजावत गर्न दिइने भएको हो।

ADVERTISEMENT

प्रशासनले तोकिएको दुई घण्टाभित्र आवश्यक सामग्री खरिद गरी तत्काल आफ्नो निवासतर्फ फर्किन आग्रह गरेको छ। त्यसपछि भने कर्फ्यु आदेशको पूर्ण रूपमा पालना गर्नुपर्ने चेतावनी दिइएको छ।

प्रशासनका अनुसार कर्फ्यु अवधिभर पनि अस्पताल, फार्मेसी, स्वास्थ्य सेवा, एम्बुलेन्स, दमकल, शववाहन, खानेपानी, दूध ढुवानी, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थ ढुवानी तथा बिक्रीलगायत अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।

यस्तै स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, बिरामी, विमानस्थल जाने–आउने यात्रु तथा उनीहरूलाई लिन–छोड्न जाने व्यक्तिले परिचयपत्र वा सम्बन्धित प्रमाणपत्रका आधारमा आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ।

धनुषा प्रशासनले सर्वसाधारणलाई अफवाहमा नलाग्न, सुरक्षा निकायसँग समन्वय गर्न तथा कर्फ्यु आदेशको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १५, शुक्रबार ०६:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !