हिन्दु सनातनी समाजद्वारा भोलिदेखि अनिश्चितकालीन सप्तरी बन्दको आह्वान

हिन्दु सनातनी समाजद्वारा भोलिदेखि अनिश्चितकालीन सप्तरी बन्दको आह्वान
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १४, बिहीबार २२:२८
हिन्दु सनातनी समाजद्वारा भोलिदेखि अनिश्चितकालीन सप्तरी बन्दको आह्वान

चन्दन रजक, राजविराज: हिन्दु सनातनी समाज सप्तरीले सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनामा मृत्यु तथा घाइते भएका व्यक्तिलाई न्याय दिलाउन माग गर्दै साउन १५ गतेदेखि सप्तरी जिल्लाभर अनिश्चितकालीन बन्दको आह्वान गरेको छ।

संस्थाले बिहीबार जारी गरेको विज्ञप्तिमा सुनसरीको देवानगञ्जमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमका क्रममा भएको घटनामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको तथा सिरहाको गोलबजारमा पनि आन्दोलनका क्रममा गोली प्रहारबाट मृत्यु र घाइते भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही नभएसम्म बन्द जारी रहने जनाएको छ।

ADVERTISEMENT

विज्ञप्तिअनुसार बन्दका क्रममा सार्वजनिक यातायात, बजार तथा अन्य व्यवसायिक गतिविधि प्रभावित हुनेछन्। यद्यपि एम्बुलेन्स, दूध बोक्ने सवारी, खाद्यान्न तथा तरकारी ढुवानी, बिरामी बोक्ने सवारी, अस्पताल, औषधि पसल, चिकित्सकका क्लिनिक, ग्यास तथा इन्धन ढुवानी, किसानका लागि बीउ र मलका पसल तथा विद्यालय भने सञ्चालनमा रहने उल्लेख गरिएको छ।

त्यस्तै अत्यावश्यक सामग्री खरिद–बिक्रीका लागि बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म बजार खुला रहने व्यवस्था गरिएको विज्ञप्तिमा जनाइएको छ।

बन्दको आह्वानमा सनातन संस्कृति नेपाल सप्तरी, हिन्दु सम्राट नेपाल सप्तरी, राष्ट्रिय बजरङदल सप्तरी, इस्कोन राजविराज तथा श्रीकृष्ण भक्त मण्डल राजविराजलगायत संस्थाहरूले समर्थन जनाएका छन्।

यसअघि सुनसरी घटनापछि सप्तरी प्रशासनले भने जिल्लामा शान्ति–सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग संयमता अपनाउन आग्रह गर्दै सर्वपक्षीय सहमति गराएको थियो।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार २२:२८
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !