तनाव बढाउने होइन, शान्ति प्रवर्द्धन गर्ने पत्रकारिता गरौँ : वरिष्ठ पत्रकार अनिल कर्ण

तनाव बढाउने होइन, शान्ति प्रवर्द्धन गर्ने पत्रकारिता गरौँ : वरिष्ठ पत्रकार अनिल कर्ण
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १४, बिहीबार २१:४४
तनाव बढाउने होइन, शान्ति प्रवर्द्धन गर्ने पत्रकारिता गरौँ : वरिष्ठ पत्रकार अनिल कर्ण

जनकपुरधाम : वरिष्ठ पत्रकार अनिल कुमार कर्णले मधेशमा केही दिनयता देखिएको तनावपूर्ण अवस्थाका बीच प्रत्यक्ष प्रसारण गरिरहेका सञ्चारकर्मीलाई संयमित, तथ्यमा आधारित र जिम्मेवार पत्रकारिता गर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै कर्णले उत्तेजक, घृणायुक्त तथा हिंसालाई बढावा दिने भाषा, प्रस्तुति वा मुद्राको प्रयोग नगर्न सञ्चारकर्मीलाई आग्रह गरेका हुन्। उनले अपुष्ट सूचना, अफवाह, नियोजित गलत सूचना (डिसइन्फर्मेसन) र नक्कली भिडियो (फेक भिडियो) का कारण तनाव झन् चर्किन सक्ने भन्दै त्यसप्रति विशेष सतर्कता अपनाउनुपर्ने उल्लेख गरेका छन्।

ADVERTISEMENT

उनले विश्व पत्रकारिताको अभ्यासलाई स्मरण गराउँदै सामाजिक सञ्जालमा फैलिने गलत सूचना र छलपूर्ण सामग्रीका कारण विभिन्न देशमा हिंसा भड्किएका उदाहरण रहेको बताए। नेपालमै पनि अपुष्ट तथा हानिकारक सूचनाका कारण विगतमा ठूलो उपद्रो निम्तिएको उल्लेख गर्दै उनले पत्रकारिताले तथ्य पुष्टि गरेपछि मात्रै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन्।

कर्णले पत्रकारिताको मूल आधार तथ्य, सन्तुलन र जिम्मेवारी भएको उल्लेख गर्दै पर्याप्त तथ्य र सबै पक्षको भनाइ समेटेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्। समाचार लेख्दा वा बोल्दा त्यसले समाजमा तनाव बढाउँछ कि घटाउँछ भन्ने विषयमा एकपटक अवश्य सोच्नुपर्ने उनको भनाइ छ।

उनले वस्तुपरक पत्रकारिताभित्र न्याय, शान्ति र सार्वजनिक हितलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै सन्दर्भविहीन टिप्पणी, अपुष्ट दाबी तथा अनर्गल विश्लेषणबाट टाढा रहन सञ्चारकर्मीलाई सुझाव दिएका छन्। गल्ती भए तत्काल सच्याएर सही सूचना सार्वजनिक गर्नु पत्रकारिताको दायित्व भएको पनि उनले बताएका छन्।

त्यस्तै, भ्रामक तथ्याङ्क, झुटा दाबी तथा प्रतिशोधको भावना बढाउने सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै कर्णले सबैभन्दा महत्त्वपूर्ण रूपमा कुनै पनि तनाव वा घटनालाई सामूहिक धार्मिक पहिचानसँग जोडेर प्रस्तुत नगर्न चेतावनी दिएका छन्।

उनले विगतमा एकपक्षीय रिपोर्टिङ, अपुष्ट दाबी र उत्तेजक भाषाका कारण पत्रकारिताको विश्वसनीयतामाथि पटक–पटक प्रश्न उठेको स्मरण गराउँदै वर्तमान संवेदनशील परिस्थितिमा सञ्चारमाध्यमले अझ बढी जिम्मेवारी र संयमता प्रदर्शन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार २१:४४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !