धनुषामा सुरक्षा जिम्मा सेनालाई, कर्फ्यु उल्लंघन रोक्न गो*ली चलाउने अधिकार प्रत्यायोजन

धनुषामा सुरक्षा जिम्मा सेनालाई, कर्फ्यु उल्लंघन रोक्न गो*ली चलाउने अधिकार प्रत्यायोजन
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १४, बिहीबार २१:२९
धनुषामा सुरक्षा जिम्मा सेनालाई, कर्फ्यु उल्लंघन रोक्न गो*ली चलाउने अधिकार प्रत्यायोजन

जनकपुरधाम: धनुषा जिल्लाको कर्फ्यु प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले नेपाली सेना परिचालनका लागि औपचारिक रूपमा अनुरोध गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलले बिहीबार जारी गरेको पत्रमार्फत नेपाली सेनाको विपिण्द्र गण, महेन्द्रनगर ब्यारेक, धनुषालाई आवश्यकताअनुसार सेना परिचालन गर्न अनुरोध गरेका हुन्।

ADVERTISEMENT

पत्रअनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि अर्को आदेश नभएसम्म जनकपुरधामका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश लागू गरिएको छ। कर्फ्यु लागू गरिएका क्षेत्रहरूमा पूर्वतर्फ बेलौनी रोडस्थित एस.एस. चोकबाट करिब ५०० मिटर पूर्व पेट्रोल पम्प हुँदै हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म, पश्चिमतर्फ सिनुरजोडा–सोहनी–मनिपुरवा–नेपाल नर्सरी–इस्कोन–जनकपुर–दुधमती पुल–बेला–कादरी मस्जिद क्षेत्र, उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोकदेखि सिनुरजोडा चोकसम्म तथा पूर्वमा लक्ष्मीपुर बङ्गाहा र दक्षिणतर्फ नगराइन नगरपालिका हुँदै नगराइन चोक वरपरका क्षेत्र समेटिएका छन्।

प्रशासनले कर्फ्यु आदेश प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमा राख्न नेपाली सेनाको आवश्यकता परेको उल्लेख गरेको छ। सोही आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा १(क) र (ख) बमोजिम सेना परिचालनका लागि अनुरोध गरिएको पत्रमा उल्लेख छ।

जिल्ला प्रशासनले शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमा राख्न आवश्यक परे न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली चलाउने अधिकारसमेत नेपाली सेनालाई प्रत्यायोजन गर्ने जनाएको छ।

धनुषामा पछिल्ला आन्दोलन र तनावपूर्ण अवस्थापछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ भने सुरक्षा व्यवस्था थप कडा बनाइएको छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार २१:२९
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !