सुनसरी–सिरहाका घटनाप्रति जसपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न आग्रह

सुनसरी–सिरहाका घटनाप्रति जसपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न आग्रह
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १४, बिहीबार १८:४३
सुनसरी–सिरहाका घटनाप्रति जसपाद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र सामाजिक सद्भाव कायम गर्न आग्रह

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपालले सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रवक्ता मनीष कुमार सुमनद्वारा बिहीबार जारी प्रेस विज्ञप्तिमा सुनसरीको देवानगञ्जमा प्रहरीको गोली प्रहारबाट मृत्यु भएका ओमप्रकाश मेहता तथा सिरहाको गोलबजार घटनामा मृत्यु भएका गणेश यादवप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिएको छ। साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

ADVERTISEMENT

जसपाले मृतकका परिवारलाई न्यायोचित राहत उपलब्ध गराउन तथा घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमा धार्मिक तथा सामाजिक सद्भाव बिथोल्ने, द्वन्द्व सिर्जना गर्ने र हिंसात्मक गतिविधि फैलाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। धर्मका नाममा समाजमा वैमनस्य फैलाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने उल्लेख गर्दै सबै नेपालीलाई शान्ति, आपसी सद्भाव, भाइचारा र एकता कायम राख्न आग्रह गरिएको छ।

जसपाले वर्तमान परिस्थितिमा सरकार थप जिम्मेवार, संवेदनशील र प्रभावकारी बन्नुपर्ने आवश्यकता औंल्याएको छ। सामाजिक सद्भाव कायम राख्न आवश्यक सक्रियता, तत्परता र ठोस पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १८:४३
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !