धार्मिक सहिष्णुता कायम राख्न सीके राउतको आग्रह, ‘न्याय खोजौं, तर द्वन्द्व र हिंसा होइन’

धार्मिक सहिष्णुता कायम राख्न सीके राउतको आग्रह, ‘न्याय खोजौं, तर द्वन्द्व र हिंसा होइन’
मधेश पत्र मधेश पत्र २०८३ श्रावण १४, बिहीबार १४:४४
धार्मिक सहिष्णुता कायम राख्न सीके राउतको आग्रह, ‘न्याय खोजौं, तर द्वन्द्व र हिंसा होइन’

काठमाडौं : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले अन्य ठाउँको द्वन्द्व र हिंसाको प्रभाव नेपालमा भित्र्याउने प्रयास अन्ततः आफ्नै समाजका लागि घातक हुने बताएका छन्।

ADVERTISEMENT

‘अरू ठाउँबाट आगोको झिल्को ल्याएर आफ्नो गाउँमा लगायौं भने अन्ततः त्यसले आफ्नै घर पनि जलाउँछ। न्याय खोजौं, तर द्वन्द्व र हिंसा होइन,’ उनले लेखेका छन्।

राउतले नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक देश भएको उल्लेख गर्दै विभिन्न धर्मावलम्बीहरू सदियौंदेखि आपसी सद्भावका साथ बस्दै आएको बताएका छन्। कुनै पनि धर्मका मानिस आफ्नो घरबार छाडेर कतै जाने अवस्था नरहेको उल्लेख गर्दै उनले आक्रोश वा उकसाहटमा परेर धार्मिक सहिष्णुता र सामाजिक एकता बिगार्न नहुने धारणा राखेका छन्।

उनले राज्यसँग विभिन्न विषयमा असहमति रहेको र त्यसका लागि शान्तिपूर्ण संघर्ष जारी रहेको पनि बताएका छन्। राज्यका निकायले षड्यन्त्र गरे खबरदारी गरिरहेको उल्लेख गर्दै त्यसको अर्थ नागरिकहरू आपसमा नै द्वन्द्वमा उत्रिनु वा विभाजित हुनु नरहेको उनको भनाइ छ।

‘राज्यले उकसाएर आपसमै भिडाउन खोजे पनि हामी सचेत भएर अझ एकजुट हुनुपर्छ। प्रहरी, प्रशासन वा अन्य संयन्त्रका कर्मचारी केही समयपछि सरुवा भएर अन्यत्र जान सक्छन्, तर अन्ततः यही समाजमा हामीले नै सँगै बस्नुपर्ने हुन्छ,’ उनले भनेका छन्।

राउतले सबै पक्षलाई संयमता अपनाउन, शान्ति कायम राख्न र सामाजिक सद्भाव जोगाउन आग्रह गर्दै न्यायका पक्षमा आफूहरू सधैं उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकसमेत सार्वजनिक गर्दै नेपालमा हिन्दु धर्मावलम्बी ८१.१९ प्रतिशत, बौद्ध ८.२१ प्रतिशत, इस्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत, क्रिश्चियन १.७६ प्रतिशत तथा अन्य धर्मावलम्बीहरू रहेको उल्लेख गरेका छन्। विविध धार्मिक समुदायबीचको सहअस्तित्व नेपालको पहिचान भएकाले त्यसलाई जोगाउनु सबैको साझा जिम्मेवारी भएको उनको भनाइ छ।

प्रकाशित मिति: २०८३ श्रावण १४, बिहीबार १४:४४
मधेश पत्र

मधेश पत्र

लेखक


तपाईको प्रतिक्रिया !