मल अभावले धनुषाका किसान चिन्तित, ‘रोपाइँ सकियो, अब मल नपाए बाली कसरी सप्रिन्छ?’

मल अभावले धनुषाका किसान चिन्तित, ‘रोपाइँ सकियो, अब मल नपाए बाली कसरी सप्रिन्छ?’
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १२, मंगलवार ०७:१०
मल अभावले धनुषाका किसान चिन्तित, ‘रोपाइँ सकियो, अब मल नपाए बाली कसरी सप्रिन्छ?’

जनकपुरधाम : धान रोपाइँ लगभग सम्पन्न भइसके पनि धनुषाका किसान अहिले रासायनिक मलको अभावले चिन्तित बनेका छन्। समयमै मल नपाउँदा उत्पादन घट्ने डरले किसानहरू सरकार र सम्बन्धित निकायप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ का किसान चन्द्रदेव महरा खेतीपातीकै भरमा १० सदस्यीय परिवार पाल्दै आएका छन्। आफ्नै थोरै जमिनका साथै अधियामा लिएको जग्गासहित उनले यस वर्ष करिब डेढ बिघामा धान रोपेका छन्।

ADVERTISEMENT

पर्याप्त वर्षा नहुँदा निजी स्यालो ट्युबवेलबाट प्रतिघण्टा ३ सय रुपैयाँ तिरेर सिँचाइ गर्नुपरेको उनले बताए। सरकारले सिँचाइमा अनुदान दिने सुनिए पनि आफूजस्ता सामान्य किसान त्यसबाट लाभान्वित हुन नसकेको उनको गुनासो छ।

रोपाइँ सकिएसँगै अहिले सबैभन्दा ठूलो समस्या मलको भएको महरा बताउँछन्। “कृषि प्रधान देश भनिन्छ, तर सरकारले समयमा मलको व्यवस्था गर्न सक्दैन। यस्तो अवस्थामा खेती गरेर कसरी बाँच्ने?” उनले प्रश्न गरे।

उनका अनुसार स्थानीय डिलरकहाँ एक बोरा युरिया र डीएपी माग्दा आवश्यक परिमाण नदिई १०–२० किलो मात्रै उपलब्ध गराइन्छ। नागरिकताको प्रतिलिपि र अन्य विवरण बुझाउँदा पनि पर्याप्त मल नपाउने अवस्था रहेको उनले बताए।

सोही गाउँका किसान रामपुकार राउतको समस्या पनि उस्तै छ। आठ सदस्यीय परिवार खेतीबाटै पाल्दै आएका उनी समयमै मल नपाउँदा उत्पादनमा असर पर्ने चिन्तामा छन्।

“जसोतसो रोपाइँ गरियो, तर मल पाइँदैन। मलबिनाको बाली कसरी राम्रो हुन्छ?” उनले भने।

गत वर्ष पनि समयमा रासायनिक मल नपाउँदा धान उत्पादन घटेको स्मरण गर्दै उनले त्यसबेलाको उब्जनीले परिवारलाई ६–८ महिना पनि नपुगेको बताए। चुनावअघि किसानका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउने नेताहरू सत्ता पुगेपछि बिर्सने गरेको उनको आरोप छ।

अर्का किसान वंशीराम महराले नयाँ सरकारसँग धेरै अपेक्षा राखे पनि अवस्था फेरिन नसकेको बताए। “पहिलेको सरकारले गरेन, अहिलेको सरकारले केही सुधार गर्ला भन्ने आशा थियो। तर अहिले पनि उस्तै समस्या दोहोरिएको छ,” उनले भने।

किसानहरूका अनुसार विगतमा भारतसँगको सीमावर्ती क्षेत्रबाट मल ल्याएर आवश्यकता पूरा गर्ने गरिएको भए पनि अहिले त्यस्तो सम्भावना नरहेकाले समस्या झन् जटिल बनेको छ।

यता कृषि सामग्री कम्पनी लिमिटेड, जनकपुरले भने यस वर्ष विगतको तुलनामा मल आपूर्तिमा सुधार ल्याउने प्रयास गरिएको जनाएको छ। संस्थानका सूचना अधिकारी बेचन साहका अनुसार साउन ८ गतेसम्म धनुषाका लागि ९२८ मेट्रिक टन युरिया, ४५९ मेट्रिक टन डीएपी र ५४ मेट्रिक टन पोटास पठाइसकिएको छ।

उनले अमेरिका–इरान तनावका कारण हर्मुज जलडमरूमध्य हुँदै आउने मल ढुवानीमा केही समय अवरोध हुँदा आपूर्तिमा ढिलाइ भएको बताए।

“मल स्थानीय तहमार्फत वितरण हुने भएकाले कतिपय स्थानमा व्यवस्थापन प्रभावकारी नहुँदा किसानले सहज रूपमा मल पाउन सकेका छैनन्,” साहले भने। उनका अनुसार कृषि मन्त्रालयको बफर कोटाबाट प्राप्त डीएपी मल सम्बन्धित पालिकाको निर्णयअनुसार बिक्री वितरण भइरहेको छ।

कृषि ज्ञान केन्द्र धनुषाले भने गत वर्षको तुलनामा यस वर्ष मल केही चाँडै आएको र वितरणसमेत भइरहेको जनाएको छ।

केन्द्रका कृषि अर्थविज्ञ गणेश अधिकारी खत्रीका अनुसार साउन ७ गतेसम्म जिल्लामा लक्ष्यको ७९.१ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भइसकेको छ। धनुषामा करिब ४३ हजार ७ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म ३४ हजार ५६५ हेक्टरमा रोपाइँ सकिएको उनले जानकारी दिए।

उनका अनुसार मधेसमा धान, गहुँ, तोरी र मुसुरो गरी वर्षमा तीन बाली लगाउने प्रचलन रहेकाले हाल उपलब्ध हुने रासायनिक मलको परिमाण किसानको वास्तविक आवश्यकताभन्दा अझै कम रहेको छ।

प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलवार ०७:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !