सुनसरी घटना: घाइतेका बुबाको आरोप– ‘सबैको कम्मरमाथि गोली लागेको छ’

सुनसरी घटना: घाइतेका बुबाको आरोप– ‘सबैको कम्मरमाथि गोली लागेको छ’
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ११, सोमबार १३:१३
सुनसरी घटना: घाइतेका बुबाको आरोप– ‘सबैको कम्मरमाथि गोली लागेको छ’

विराटनगर : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार साँझ भएको साम्प्रदायिक तनाव र झडपमा प्रहरीको गोली लागेर घाइते भएका एक किशोरका बुबाले सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्।

घटनामा घाइते भएका कक्षा १० मा अध्ययनरत मिथलेश मेहताका बुबा दिलिप मेहता छोराको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुगेका छन्। उनले झण्डा टाँग्ने विषयमा विवाद सुरु भएपछि प्रहरीले परिस्थिति नियन्त्रणका नाममा गोली चलाएको दाबी गरे।

ADVERTISEMENT

‘झण्डा टाँग्ने विषयमा विवाद भयो। प्रहरीले कसरी गोली चलायो थाहा भएन। सुरुमा लाठीचार्जसमेत भएको थिएन। एक्कासि फायर हुन थाल्यो, त्यसपछि के भयो भन्ने थाहा भएन। पछि छोरालाई गोली लागेको खबर पाएँ,’ दिलिपले भने।

उनका अनुसार सुरुमा झडपमा संलग्न समूह पछि हटिसकेपछि झण्डा राख्न गएका सर्वसाधारणमाथि प्रहरीले बल प्रयोग गरेको थियो। उनले आफूले देखेका अधिकांश घाइतेको शरीरको कम्मरमाथिको भागमा गोली लागेको दाबी गरेका छन्।

प्रहरीका अनुसार घटनाका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले २५ राउन्ड गोली प्रहार गरेका थिए। गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भई विभिन्न अस्पतालमा उपचाररत छन्।

उपचाररत घाइतेमध्ये न्युरो अस्पतालमा रहेका जयप्रकाश मेहताको पेटमा, मिथलेश मेहताको पेटको बायाँ भागमा तथा अमलेश मेहताको ढाड र गर्दनमा गोली लागेको अस्पताल स्रोतले जनाएको छ। नोबेल अस्पतालमा उपचाररत अमित यादवको पेट र देब्रे हातमा गोली लागेको छ।

यस्तै, विराट नर्सिङ होममा उपचाररत रविन्द्र मेहता, अमितकुमार यादव, सुनिलकुमार मेहता र सुनिल मेहतासहित अन्य घाइतेहरूको पनि कम्मरमाथिको भागमा गोली लागेको अस्पताल स्रोतको भनाइ छ।

घटनामा सुरक्षाकर्मीतर्फ १३ जना सहित कुल २२ जना घाइते भएका छन्।

यस घटनाबारे प्रहरीले परिस्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको जनाएको छ भने घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०८३ श्रावण ११, सोमबार १३:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !