रौतहटमा तस्करले मोटरसाइकलमै सालको गोलिया काठ तस्करी गर्दै, गस्ती देखेपछि काठ फालेर फरार

रौतहटमा तस्करले मोटरसाइकलमै सालको गोलिया काठ तस्करी गर्दै, गस्ती देखेपछि काठ फालेर फरार
मधेशपत्र मधेशपत्र २०८३ श्रावण १०, आईतवार १३:००
रौतहटमा तस्करले मोटरसाइकलमै सालको गोलिया काठ तस्करी गर्दै, गस्ती देखेपछि काठ फालेर फरार

जनकपुरधाम : रौतहटमा डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बल (एपीएफ) को संयुक्त रात्रि गस्तीका क्रममा साल जातको गोलिया काठ बरामद भएको छ।

वन डिभिजन कार्यालय रौतहटका प्रमुख मनोज ठाकुरका अनुसार जंगलसहिया सब-डिभिजन वन कार्यालयका प्रमुख विनोद जेठाराको कमाण्डमा सशस्त्र प्रहरी बल (एपीएफ) जंगलसहियासँगको संयुक्त टोलीले शनिबार राति करिब १ बजे नियमित रात्रि गस्ती गरिरहेको थियो।

ADVERTISEMENT

सोही क्रममा काठ तस्करहरूले मोटरसाइकलमा साल जातका दुई थान गोलिया काठ लोड गरी ओसारपसार गरिरहेको अवस्थामा गस्ती टोलीको नजरमा परेका थिए। गस्ती टोलीलाई देख्नेबित्तिकै तस्करहरूले मोटरसाइकलबाट काठ बाटोमुनिको खेतमा फालेर अँध्यारोको मौका छोप्दै फरार भएका थिए।

त्यसपछि संयुक्त टोलीले उक्त सालका गोलिया काठ बरामद गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ। बरामद काठ हाल जंगलसहिया सब-डिभिजन वन कार्यालयको घाटगढीमा सुरक्षित रूपमा राखिएको छ।

डिभिजन वन कार्यालय रौतहटका प्रमुख मनोज ठाकुरले वन पैदावारको अवैध ओसारपसार तथा तस्करी नियन्त्रणका लागि रात्रि गस्तीलाई थप प्रभावकारी बनाइएको बताउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिको खोजी तथा कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए।

प्रकाशित मिति: २०८३ श्रावण १०, आईतवार १३:००
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !