सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड, हुलाकी सडक अवरुद्ध

सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड, हुलाकी सडक अवरुद्ध
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ९, शनिबार १४:४९
सिरहामा बालकको मृत्युपछि स्वास्थ्य केन्द्रमा तोडफोड, हुलाकी सडक अवरुद्ध

सिरहा : सर्पदंशका एक बालकको उपचारका क्रममा मृत्यु भएपछि सिरहाको भगवानपुर गाउँपालिका तनावग्रस्त बनेको छ ।

उपचारमा ढिलाइ भएको तथा एम्बुलेन्स समयमै उपलब्ध नगराइएको आरोप लगाउँदै आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गर्नुका साथै हुलाकी सडक अवरुद्ध गरेका छन् ।

ADVERTISEMENT

भगवानपुर गाउँपालिका–४, कल्याणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याइएका सप्तरीको बलान बिहुल गाउँपालिकाका अरुण मण्डलका छोरा रोशन मण्डललाई समयमै थप उपचारका लागि रिफर गर्न नसकिएको स्थानीयको आरोप छ ।

स्थानीयका अनुसार, एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्ष उग्र नारायण यादवको अनुमति बिना एम्बुलेन्स सञ्चालन गर्न नमिल्ने बताएपछि उपचारमा ढिलाइ भएको र बाटोमै मृत्यु भएको आफन्तहरूको दाबी छ ।

घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य केन्द्रमा तोडफोड गरेका छन् भने हुलाकी सडकमा टायर र दाउरा बालेर अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा प्रभावित भएको छ ।

स्थानीयका अनुसार, बिहान ११ बजे गाउँपालिका अध्यक्षसँग वार्ता गर्ने सहमति भए पनि अध्यक्ष वार्तास्थलमा नपुगेपछि आन्दोलन थप चर्किएको हो । आन्दोलनका अगुवा प्रविन्द यादव र इन्दल मण्डलले अध्यक्ष वार्तामा नआएको भन्दै असन्तुष्टि जनाएका छन् ।

स्थिति नियन्त्रणमा लिन घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी रमेश बहादुर पालले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति: २०८३ श्रावण ९, शनिबार १४:४९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !