रास्वपाको कडा नीति : स्वकीय सचिव नियुक्तिमा खुला प्रतिस्पर्धा अनिवार्य, आर्थिक हिनामिनामा तत्काल कारबाही

रास्वपाको कडा नीति : स्वकीय सचिव नियुक्तिमा खुला प्रतिस्पर्धा अनिवार्य, आर्थिक हिनामिनामा तत्काल कारबाही
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ८, शुक्रबार ११:३०
रास्वपाको कडा नीति : स्वकीय सचिव नियुक्तिमा खुला प्रतिस्पर्धा अनिवार्य, आर्थिक हिनामिनामा तत्काल कारबाही

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिव नियुक्ति प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धात्मक र उत्तरदायी बनाउन नयाँ मार्गदर्शन लागू गरेको छ। पार्टीले अब स्वकीय सचिवको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था गर्दै नातावाद, आर्थिक अनियमितता तथा भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट नीति सार्वजनिक गरेको हो।

महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी मार्गदर्शनमा स्वकीय सचिवको पारिश्रमिकबाट कुनै पनि प्रकारको अनधिकृत रकम कट्टा, असुल वा हिनामिना गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ। सांसदहरूले पारिश्रमिक सिधै स्वकीय सचिवको बैंक खातामा जम्मा हुने व्यवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ।

ADVERTISEMENT

नियुक्त स्वकीय सचिवको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाणपत्र तथा आवश्यक कागजात संघीय संसद् सचिवालय र पार्टीको केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ। साथै, सांसदले आफ्नो स्वकीय सचिवको कार्यसम्पादनको नियमित मूल्यांकन गरी आवधिक प्रतिवेदन संसदीय दलमा पेस गर्नुपर्नेछ।

मार्गदर्शनले स्वकीय सचिवलाई सांसदका कामकारबाही, पार्टीका आन्तरिक सूचना तथा संसद्का संवेदनशील विषयको गोपनीयता कायम राख्नुपर्ने दायित्व पनि तोकेको छ।

रास्वपाले राज्यकोषबाट प्राप्त सुविधा जनताको करबाट सञ्चालित हुने भएकाले यसको प्रयोगमा उच्च नैतिकता, पारदर्शिता र जनउत्तरदायित्व आवश्यक रहेको जनाएको छ। नातेदार नियुक्ति गर्ने, कागजी रूपमा मात्र स्वकीय सचिव देखाएर सुविधा लिने वा अन्य कुनै आर्थिक हिनामिनामा संलग्न पाइए पार्टीको केन्द्रीय अनुशासन समितिमार्फत तत्काल कारबाही गरिने चेतावनी दिइएको छ।

त्यस्तै, कार्यसम्पादन सन्तोषजनक नभए, पदीय आचरण उल्लंघन गरे वा गोपनीयता भंग गरेमा सम्बन्धित सांसदले संसदीय दललाई जानकारी गराई जुनसुकै बेला स्वकीय सचिवलाई पदमुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।

रास्वपाले स्वकीय सचिव नियुक्तिका लागि सार्वजनिक दरखास्त आह्वान गर्न साझा, आधिकारिक र व्यावसायिक विज्ञापन ढाँचा तयार गर्ने जनाएको छ। उक्त ढाँचामा आवश्यक योग्यता, कार्यविवरण र आवेदन प्रक्रिया स्पष्ट उल्लेख गरिनेछ र नयाँ नियुक्तिका क्रममा सबै सांसदले अनिवार्य रूपमा सोही ढाँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ८, शुक्रबार ११:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !