रौतहटमा घरमा पसेको किङ कोब्रा सुरक्षित उद्धार, मध्यरातमै प्राकृतिक बासस्थानमा छाडियो

रौतहटमा घरमा पसेको किङ कोब्रा सुरक्षित उद्धार, मध्यरातमै प्राकृतिक बासस्थानमा छाडियो
राघव मण्डल राघव मण्डल २०८३ श्रावण ७, बिहीबार १२:१८
रौतहटमा घरमा पसेको किङ कोब्रा सुरक्षित उद्धार, मध्यरातमै प्राकृतिक बासस्थानमा छाडियो

जनकपुरधाम : रौतहटको चन्द्रपुर नगरपालिका–९, मरिन टोलस्थित अरुण तिमल्सिनाको घरको भान्सा कोठामा पसेको दुर्लभ किङ कोब्रा (राज गोहमन) सर्पको सफल तथा सुरक्षित उद्धार गरिएको छ।

डिभिजन वन कार्यालय, रौतहटका अनुसार बुधबार राति करिब १० बजे अरुण तिमल्सिनाको घरको भान्सा कोठामा किङ कोब्रा पसेको सूचना प्राप्त भएपछि डिभिजनल वन अधिकृत मनोज ठाकुरको पहलमा उद्धार अभियान सञ्चालन गरिएको थियो।

ADVERTISEMENT

उक्त अभियानमा प्रसिद्ध सर्प उद्धारकर्ता दिपक नेपालको सहयोगमा सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको थियो। उद्धारपछि सर्पलाई आवश्यक सुरक्षा मापदण्ड अपनाई राति करिब १२ बजे रौतहटस्थित लमहा खोला नजिकको वन क्षेत्र, अर्थात् यसको प्राकृतिक बासस्थानमा सुरक्षित रूपमा छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ।

समयमै गरिएको समन्वय, दक्ष उद्धार टोलीको सक्रियता तथा स्थानीयवासीको सहयोगका कारण कुनै पनि मानवीय वा भौतिक क्षति हुन नपाएको कार्यालयले जनाएको छ।

डिभिजनल वन अधिकृत मनोज ठाकुरले वन्यजन्तु देखिएमा आत्तिनुभन्दा सम्बन्धित निकायलाई तत्काल जानकारी दिन आग्रह गर्दै यस्ता दुर्लभ तथा संरक्षित प्रजातिको संरक्षण सबैको साझा दायित्व भएको बताए।

स्थानीयवासीले जोखिमपूर्ण अवस्थाबीच किङ कोब्राको सुरक्षित उद्धार गरी प्राकृतिक बासस्थानमै फर्काइएको भन्दै उद्धार टोलीप्रति आभार व्यक्त गरेका छन्। यस घटनाले वन्यजन्तु संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न प्रभावकारी समन्वय र शीघ्र उद्धार कार्यको महत्वलाई पुनः उजागर गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार १२:१८
राघव मण्डल

राघव मण्डल

लेखक

उहाँ मधेशपत्रको डेस्क संयोजक हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया !