नास्पातीका क्रेटमा लुकाएर ६५२ केजी गाँजा तस्करी, सिरहाको लहानबाट तीन जना पक्राउ

नास्पातीका क्रेटमा लुकाएर ६५२ केजी गाँजा तस्करी, सिरहाको लहानबाट तीन जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ७, बिहीबार ०९:४७
नास्पातीका क्रेटमा लुकाएर ६५२ केजी गाँजा तस्करी, सिरहाको लहानबाट तीन जना पक्राउ

सिरहा :सिरहाको लहान नगरपालिका–३ नयाँ बस्ती टोलमा नास्पातीका क्रेटभित्र लुकाएर राखिएको ठूलो परिमाणको गाँजा प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा प्रहरीले सञ्चालन गरेको अपरेशनमा एक पिकअप गाडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रहरीका अनुसार पार्किङ अवस्थामा रहेको बा२१च ५६६६ नम्बरको योद्धा पिकअपमा खानतलासी गर्दा नास्पातीका ४६ वटा क्रेटभित्र बोरामा लुकाएर राखिएको गाँजा फेला परेको हो। बरामद गाँजाको तौल प्लास्टिकसहित ६६३ केजी र प्लास्टिक हटाउँदा ६५२ केजी रहेको प्रहरीले जनाएको छ। साथै गाडीमा रहेको करिब ९ हजार ९२० केजी नास्पाती समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

घटनामा संलग्न रहेको आरोपमा लहान नगरपालिका–३ का ३८ वर्षीय श्यामकुमारी साह, भारतको बिहार राज्य, मधुवनी जिल्ला घर भई हाल लहान–३ बस्दै आएका ४० वर्षीय गौरव महतो तथा उनका १९ वर्षीय छोरा शिवम साहलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर पालका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गरिएको हो।

प्रहरीले पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। साथै बरामद गाँजाको स्रोत, गन्तव्य र यसमा संलग्न अन्य व्यक्तिको पहिचान गर्न अनुसन्धानलाई थप विस्तार गरिएको डीएसपी पालले जानकारी दिए।

बरामद भएको पिकअप, गाँजा र अन्य सामग्री नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ७, बिहीबार ०९:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !