‘नेपाल झुक्यो’ भन्दै भारतीय मिडियामा हल्लाखल्ला: १ र २ रुपैयाँको नयाँ सिक्कामा ‘चुच्चे नक्सा’ हटाउने निर्णयबारे बहस

‘नेपाल झुक्यो’ भन्दै भारतीय मिडियामा हल्लाखल्ला: १ र २ रुपैयाँको नयाँ सिक्कामा ‘चुच्चे नक्सा’ हटाउने निर्णयबारे बहस
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ५, मंगलवार १२:३०
‘नेपाल झुक्यो’ भन्दै भारतीय मिडियामा हल्लाखल्ला: १ र २ रुपैयाँको नयाँ सिक्कामा ‘चुच्चे नक्सा’ हटाउने निर्णयबारे बहस

काठमाडौं : नेपाल सरकारले १ र २ रुपैयाँका नयाँ सिक्का निष्कासन गर्ने स्वीकृति दिएसँगै भारतीय सञ्चारमाध्यमहरूमा यसलाई लिएर चौतर्फी बहस र दाबी सुरु भएको छ।

आजतक, टाइम्स अफ इन्डिया तथा ईटीभी भारत जस्ता प्रमुख भारतीय मिडियाहरूले ‘नेपाल झुक्यो’ तथा ‘नेपालद्वारा विवादित नक्सा हटाइयो’ भन्ने जस्ता सनसनीपूर्ण शीर्षक राखेर समाचार सम्प्रेषण गरेका छन्।

ADVERTISEMENT

नेपाल राष्ट्र बैंकको प्रस्तावमा मन्त्रिपरिषद्ले १ र २ रुपैयाँको नयाँ डिजाइनका सिक्का ढलाइ गर्न स्वीकृति दिएपछि यो विषय कूटनीतिक तथा राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको हो। मन्त्रिपरिषद्को निर्णय र नयाँ सिक्काको डिजाइन नेपाल राष्ट्र बैंकले १ र २ रुपैयाँका साना दरका सिक्काहरूको आकार, तौल र धातुको बनोट परिमार्जन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो।

सोही प्रस्ताव अनुसार मन्त्रिपरिषद् बैठकले नयाँ सिक्का ढलाइका लागि स्वीकृति दिएको हो। नयाँ सिक्काको परिमार्जित विवरण अनुसार १ रुपैयाँको सिक्का: ४ ग्रामबाट घटाएर ३.२ ग्राम बनाइनेछ । २ रुपैयाँको सिक्का ५ ग्रामबाट घटाएर ३.८ ग्राम बनाइनेछ।

नयाँ सिक्कामा मिश्रित धातुको सट्टा स्टिल प्रयोग गरिनेछ। १ रूपैयाँको सिक्काको अगाडिको भागमा नेपालको ‘चुच्चे नक्सा’ को सट्टा मुस्ताङस्थित ७औँ शताब्दीको ऐतिहासिक ‘लो घ्यक्कर (घर) गुम्बा’ राखिनेछ। २ रूपैयाँको सिक्कामा भने जानकी मन्दिर नै राखिनेछ।

राष्ट्र बैंकका अनुसार नयाँ सिक्काको अगाडिको भागमा मुस्ताङको मराङ गाउँमा रहेको प्राचीन लो घ्यक्कर गुम्बाको चित्र अंकित गरिनेछ। गुरु पद्मसम्भवद्वारा स्थापना गरिएको विश्वास गरिने यो गुम्बा नेपालकै सबैभन्दा पुराना गुम्बाहरूमध्ये एक मानिन्छ। सिक्कामा ऐतिहासिक सांस्कृतिक सम्पदा समावेश गर्दा हाल कायम रहेको नेपालको नक्सा स्वतः विस्थापित हुने राष्ट्र बैंकका अधिकारीहरूको भनाइ छ।

भारतीय सञ्चारमाध्यमहरूले सन् २०२० मा तत्कालीन सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा (‘चुच्चे नक्सा’) लाई सिक्काबाट हटाइनुलाई नेपालको रणनीतिक लचकताका रूपमा व्याख्या गरेका छन्। आजतक र अन्य भारतीय पत्रपत्रिकाहरूले भारतसँगको सीमा विवाद र कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासस्वरूप नेपालले सिक्काबाट नक्सा हटाउने निर्णय गरेको दाबी गरेका छन्।

सीमासम्बन्धी विवाद कायम रहेकै अवस्थामा मुद्राबाट नक्सा हटाउनुलाई उनीहरूले भारतसामु नेपालको नीतिगत परिवर्तनका रूपमा प्रस्तुत गरेका छन्। नेपालभित्र आन्तरिक असन्तोष र बहसयता नेपालभित्र भने सरकारको यस निर्णयलाई लिएर तीव्र विरोध र असन्तोष व्यक्त भइरहेको छ।

पूर्वमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल लगायत विभिन्न राजनीतिक व्यक्तित्वहरूले यस कदमको कडा आलोचना गरेका छन्। नेता रावलले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै भनेका छन्, “यदि सरकारले १ रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा हटाएर गुम्बाको चित्र राख्ने निर्णय गरेको हो भने, यो नेपालको क्षेत्रीय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथिको अर्को गम्भीर प्रहार हुनेछ।”

यद्यपि, नेपाल राष्ट्र बैंक र सरकारी अधिकारीहरूले भने यो केवल सिक्काको भौतिक व्यवस्थापन, लागत कटौती र सुरक्षा फिचर परिमार्जन गर्ने नियमित प्राविधिक प्रक्रिया मात्र भएको स्पष्ट पारेका छन्। सिक्काको डिजाइन परिवर्तन हुँदैमा नेपालको संवैधानिक नक्सा वा कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको सार्वभौम दाबीमा कुनै असर नपर्ने उनीहरूको तर्क छ।

प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १२:३०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !