त्रिशुला खोलामा अस्थायी पुल बनेपछि एक सातापछि सवारी आवागमन पुनः सञ्चालन

त्रिशुला खोलामा अस्थायी पुल बनेपछि एक सातापछि सवारी आवागमन पुनः सञ्चालन
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ५, मंगलवार १०:१३
त्रिशुला खोलामा अस्थायी पुल बनेपछि एक सातापछि सवारी आवागमन पुनः सञ्चालन

सिरहा : सिरहाको बरियारपट्टी गाउँपालिका–५ स्थित त्रिशुला खोलामा अस्थायी पुल निर्माण गरिएपछि करिब एक सातादेखि अवरुद्ध रहेको सवारी आवागमन पुनः सञ्चालनमा आएको छ।

अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेपछि सडक सम्पर्क विच्छेद भएको थियो। त्यसपछि स्थानीयवासीले दैनिक आवतजावत, बिरामी ओसारपसार तथा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानीमा समस्या भोग्दै आएका थिए।

ADVERTISEMENT

स्थानीयबाट समस्या सम्बन्धी गुनासो प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट प्रहरी निरीक्षक विशाल मल्लको नेतृत्वमा २० सदस्यीय प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

प्रहरी, स्थानीय युवा, समाजसेवी तथा जनप्रतिनिधिको सहकार्यमा स्थानीय स्रोत–साधन प्रयोग गरी अस्थायी पुल निर्माण गरिएको हो। पुल निर्माण सम्पन्न भएसँगै लामो समयदेखि ठप्प रहेको सवारी आवागमन पुनः सुचारु भएको प्रहरीले जनाएको छ।

अस्थायी पुल सञ्चालनमा आएपछि स्थानीयवासीको दैनिक आवतजावत सहज हुनुका साथै बिरामीको ओसारपसार र अत्यावश्यक वस्तुको ढुवानी पनि सहज बनेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले सडक अवरुद्ध हुँदा स्थानीयको जनजीवन प्रभावित भएको जानकारी प्राप्त हुनासाथ प्रहरी परिचालन गरिएको बताए।

उनले भने, “प्रहरी, स्थानीय युवा, समाजसेवी र जनप्रतिनिधिको सक्रिय सहकार्यमा कुनै प्राविधिक उपकरण प्रयोग नगरी स्थानीय स्रोत–साधनबाट अस्थायी पुल निर्माण गरी सवारी सञ्चालनमा ल्याएका छौं। विपद्को समयमा नागरिकको सुरक्षा र सहज आवागमन सुनिश्चित गर्नु प्रहरीको प्राथमिक दायित्व हो।”

एसपी पाठकले आगामी दिनमा पनि विपद् व्यवस्थापन तथा नागरिकको सुरक्षाका लागि प्रहरी निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: २०८३ श्रावण ५, मंगलवार १०:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !