रौतहटमा सामुदायिक वन अतिक्रमण हटाइयो, रोपिएको धान नष्ट गरी वृक्षरोपण

रौतहटमा सामुदायिक वन अतिक्रमण हटाइयो, रोपिएको धान नष्ट गरी वृक्षरोपण
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३, आईतवार १८:०५
रौतहटमा सामुदायिक वन अतिक्रमण हटाइयो, रोपिएको धान नष्ट गरी वृक्षरोपण

जनकपुरधाम: रौतहटको गुजरा नगरपालिका–२, चोचा स्थित श्री शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र अतिक्रमण गरी रोपिएको धान हटाएर सो स्थानमा पुनः वृक्षरोपण गरिएको छ।

समूहका अनुसार करिब एक महिनाअघि केही व्यक्तिले सामुदायिक वन क्षेत्र खनजोत गरी धान रोपेपछि त्यसो नगर्न पटक–पटक आग्रह गरिएको थियो। तर अतिक्रमणकारीले आग्रह बेवास्ता गरेपछि प्रशासन र सुरक्षा निकायको समन्वयमा वन क्षेत्र खाली गराइएको हो।

ADVERTISEMENT

डिभिजन वन कार्यालयका डिभिजनल वन अधिकृत मनोज ठाकुरको अग्रसरता तथा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको समन्वयमा आइतबार संयुक्त टोली परिचालन गरिएको थियो।

वन कर्मचारी, रंगपुर प्रहरी चौकी, जङ्गलसहिया सशस्त्र प्रहरी बेस तथा शिवशक्ति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी सम्मिलित टोलीले अतिक्रमण गरी रोपिएको धान नष्ट गरेको जनाएको छ।

त्यसपछि खाली गराइएको वन क्षेत्रमा टिक, मसला, जामुनलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएको डिभिजन वन कार्यालयले जनाएको छ।

वन क्षेत्रको संरक्षण, अतिक्रमण नियन्त्रण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको कार्यालयको भनाइ छ। साथै सार्वजनिक तथा सामुदायिक वन क्षेत्रमा अतिक्रमण नगर्न सबैलाई आग्रह गरिएको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार १८:०५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !