मनसुन सक्रिय हुँदा देशभर बदली: तराईमा डुबान र पहाडमा पहिरोको खतरा

मनसुन सक्रिय हुँदा देशभर बदली: तराईमा डुबान र पहाडमा पहिरोको खतरा
मधेशपत्र मधेशपत्र २०८३ श्रावण ३, आईतवार ०८:२८
मनसुन सक्रिय हुँदा देशभर बदली: तराईमा डुबान र पहाडमा पहिरोको खतरा

काठमाडौं : देशभर मनसुनको प्रभाव तीव्र रूपमा बढेसँगै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको छ।

हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग आसपास तथा पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर पूर्ण बदलीको अवस्था छ।

ADVERTISEMENT

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने यो क्रम आज दिनभर र राति पनि निरन्तर जारी रहने मौसमविद्हरूले जनाएका छन्।

महाशाखाका अनुसार आज दिउँसो हिमाली, पहाडी र तराई क्षेत्रका अधिकांश स्थानमा वर्षा हुनुका साथै उच्च हिमाली भेगमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एकाध स्थानका साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने देखिएको छ।

विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने अति भारी वर्षाको समेत सम्भावना रहेकाले विशेष सावधानी अपनाउनुपर्ने देखिएको छ।

यो मौसमी प्रणाली आज राति पनि उत्तिकै सक्रिय रहने अनुमान गरिएको छ। रातिको समयमा देशभर अधिकांश बदली रही कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र तराई क्षेत्रका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।

रातिकै समयमा कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार राति कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा अति भारी वर्षा हुन सक्ने हुनाले ती क्षेत्रका नागरिकलाई सजग रहन आग्रह गरिएको छ।

यसैबीच, लगातारको अत्यधिक वर्षाका कारण देशका विभिन्न क्षेत्रमा आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव र नदी कटानको जोखिम निकै बढ्ने अनुमान गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आम सर्वसाधारणलाई नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका भिरालो जमिन आसपास नलगायतका असुरक्षित स्थानमा नजान र आवश्यक सतर्कता अपनाई सुरक्षित रहन विशेष आग्रह गरेको छ।

प्रकाशित मिति: २०८३ श्रावण ३, आईतवार ०८:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !