यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचारमा मानवअधिकार र समावेशितालाई प्राथमिकता दिन आग्रह

यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचारमा मानवअधिकार र समावेशितालाई प्राथमिकता दिन आग्रह
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २, शनिबार २०:५८
यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी समाचारमा मानवअधिकार र समावेशितालाई प्राथमिकता दिन आग्रह

जनकपुरधाम : यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा मानवअधिकार, समावेशिता र पत्रकारिताको पेशागत नैतिकतालाई केन्द्रमा राख्न सञ्चारकर्मीलाई आग्रह गरिएको छ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ, नेपालले शनिबार जनकपुरधाममा आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले समुदायसँग सम्बन्धित विषयवस्तु तथ्यमा आधारित, सम्मानजनक र पूर्वाग्रहमुक्त ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिएका हुन्।

ADVERTISEMENT

कार्यक्रममा महासंघकी प्रतिनिधि सिमरण सेरचनले ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी नैतिक, समावेशी तथा मानवअधिकारमा आधारित पत्रकारिता निर्देशिका’ सार्वजनिक गर्दै सञ्चारमाध्यममा समुदायको प्रतिनिधित्वलाई अधिकारमुखी र जिम्मेवार बनाउन निर्देशिका तयार गरिएको बताइन्।

उनले समाचार लेख्दा सत्यता, निष्पक्षता र मानवअधिकारका आधारभूत मान्यतालाई पालना गर्नुपर्ने बताउँदै सम्बन्धित व्यक्तिको गोपनीयता, सुरक्षा र स्पष्ट सहमतिलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिन्। सनसनीपूर्ण प्रस्तुति, विभेदपूर्ण शब्दको प्रयोग तथा पूर्वाग्रहयुक्त सामग्रीले समुदायमाथि थप अन्याय हुने भएकाले त्यस्ता अभ्यास त्याग्न उनले सञ्चारकर्मीलाई आग्रह गरिन्।

सेरचनका अनुसार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै पनि सामाजिक बहिष्कार, हिंसा, भेदभाव र गलत सूचनाको असर भोगिरहेको छ। सञ्चारमाध्यमले तथ्यमा आधारित, संवेदनशील र उत्तरदायी पत्रकारिता गरे समाजमा समुदायप्रतिको बुझाइ सकारात्मक बनाउन महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ थियो।

निर्देशिकामा नेपालको संविधानले सुनिश्चित गरेको समानताको अधिकार, विभेदविरुद्धको हक, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सामाजिक न्यायका व्यवस्थासँगै अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्तलाई आधार बनाइएको उल्लेख छ। यौनिक तथा लैङ्गिक विविधतालाई कुनै रोग, विकृति वा सामाजिक समस्या भनेर चित्रण गर्नु अनुचित हुने पनि निर्देशिकामा स्पष्ट पारिएको छ।

समाचार लेखनका क्रममा पत्रकारिताको आचारसंहिता पालना गर्दै व्यक्तिको सहमति, गोपनीयता र सम्मानजनक भाषाको प्रयोग गर्नुपर्नेमा निर्देशिकाले विशेष जोड दिएको छ। कुनै व्यक्तिले आफूलाई जुन यौनिक वा लैङ्गिक पहिचानबाट चिनाउन चाहन्छ, त्यसैलाई सम्मान गर्न तथा व्यक्तिगत पहिचानभन्दा समुदायका अधिकार, सरोकार र नीतिगत विषयलाई प्राथमिकताका साथ उठाउन पनि सुझाव दिइएको छ।

महासंघले समावेशी समाज निर्माण, समानता र मानवअधिकारको प्रवर्द्धनमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै पत्रकारहरूलाई निर्देशिकालाई व्यवहारमा लागू गर्न आग्रह गरेको छ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पनि विविध समुदायसँग सम्बन्धित विषयलाई जिम्मेवारीपूर्वक, तथ्यमा आधारित र सम्मानजनक ढंगले प्रस्तुत गर्नु पत्रकारिताको मूल दायित्व भएको धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार २०:५८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !