भैँसी चराउने बालकदेखि स्वर्ण पदक विजेतासम्म : संघर्ष, साहस र सपनाको प्रेरणादायी यात्रा

भैँसी चराउने बालकदेखि स्वर्ण पदक विजेतासम्म : संघर्ष, साहस र सपनाको प्रेरणादायी यात्रा
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८३ श्रावण २, शनिबार २२:४३
भैँसी चराउने बालकदेखि स्वर्ण पदक विजेतासम्म : संघर्ष, साहस र सपनाको प्रेरणादायी यात्रा

जनकपुरधाम : धनुषा जिल्लाको कमला नगरपालिका–४ सघाराको एक सामान्य मुस्लिम परिवारमा जन्मिएका मोहम्मद बद्रे आलमको जीवन संघर्ष, धैर्यता र अथक मेहनतको उदाहरण हो। आर्थिक अभावले बाल्यकाल सहज थिएन। विद्यालय जानुअघि उनको दिनचर्या भैँसी चराउने, खेतीपाती गर्ने र घरायसी काममा परिवारलाई सघाउनेमै बित्थ्यो।

१० वर्षको उमेरमा पहिलोपटक विद्यालय पुगेका बद्रे आलमलाई यूकेजीमा भर्ना गरियो। तर असाधारण प्रतिभा र लगनका कारण उनले मात्र छ महिनामै कक्षा २ मा उक्लिने अवसर पाए। त्यसपछि पनि उनको शैक्षिक यात्रा निरन्तर छलाङकै रूपमा अघि बढ्यो। एक वर्षमै दुई कक्षाको पढाइ पूरा गर्ने, विद्यालयमा टपर बन्ने र कक्षा ३ तथा ५ नपढीकनै माथिल्लो कक्षामा उक्लिने अवसर उनले पाए।

ADVERTISEMENT

गाउँमा कक्षा ५ सम्म मात्र विद्यालय भएकाले थप अध्ययनका लागि उनी जनकपुरधाम पुगे। त्यहाँबाट २०७१ सालमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौंस्थित होली भिजन क्याम्पसमा स्वास्थ्य सहायक (एचए) अध्ययन गर्दै नेपालभर तेस्रो स्थान हासिल गर्न सफल भए।

तर सफलता यतिमै रोकिएन। परिवारको कमजोर आर्थिक अवस्थाले पढाइ नै बीचमै छाड्नुपर्ने परिस्थिति आयो। विदेश जाने तयारीमा राहदानीसमेत बनाए। एकातिर वैदेशिक रोजगारीको सपना थियो भने अर्कोतिर आफ्नै देशमा अवसर खोज्ने प्रयास पनि जारी थियो।

त्यही क्रममा विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा स्वास्थ्य निर्देशनालयअन्तर्गत अस्पताल बिरामी सूचना संयोजकको रूपमा जिम्मेवारी पाए। बारा जिल्लामा कोभिड–१९ फोकल पर्सन, रेकर्डिङ–रिपोर्टिङ संयोजक तथा खोप अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै उनले स्वास्थ्य क्षेत्रमा व्यावहारिक अनुभव बटुले।

यसैबीच नेपालमा पहिलोपटक सञ्चालन भएको चिकित्सा शिक्षा आयोग (MEC) को साझा प्रवेश परीक्षा (CEE) मार्फत खुला प्रतिस्पर्धामा पूर्ण छात्रवृत्तिसहित ब्याचलर इन पब्लिक हेल्थ (BPH) अध्ययन गर्ने अवसर प्राप्त गरे।

२०७८ सालमा स्थापना भएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो ब्याचका एकमात्र विद्यार्थी बन्ने दुर्लभ अवसर पनि उनैलाई मिल्यो। चार वर्षसम्म एक्लो विद्यार्थी भएर अध्ययन गर्दा कहिल्यै आफूलाई एक्लो महसुस गर्नुपरेन। प्रतिष्ठानका शिक्षक, कर्मचारी र परिवारले दिएको माया, साथ र विश्वासले उनको यात्रा अझ सहज बनायो।

पढाइसँगै उनले स्वास्थ्यसम्बन्धी विभिन्न जर्नल र अनुसन्धानात्मक लेख प्रकाशन गरे। अन्ततः प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहमा स्वास्थ्य संकायतर्फ स्वर्ण पदक (Gold Medal) प्राप्त गर्दै इतिहास रचे।

पछाडि परेको मधेशको एउटा गाउँ, आर्थिक रूपमा कमजोर परिवार र मुस्लिम समुदायबाट उठेर स्वर्ण पदक विजेता बन्ने उनको यात्रा केवल व्यक्तिगत सफलता होइन, हजारौँ युवाका लागि प्रेरणाको स्रोत हो।

मोहम्मद बद्रे आलम भन्छन्, “परिस्थिति कठिन हुन सक्छ, तर मेहनत, धैर्यता र सही अवसरले असम्भवलाई पनि सम्भव बनाउन सक्छ।”

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार २२:४३
मनोजकुमार मोरबैता

मनोजकुमार मोरबैता

लेखक


तपाईको प्रतिक्रिया !