राष्ट्रिय परिचयपत्रको सकसले चुलिँदै मेयर र बीपी साहबीचको टकराव

राष्ट्रिय परिचयपत्रको सकसले चुलिँदै मेयर र बीपी साहबीचको टकराव
मधेशपत्र मधेशपत्र २०८३ भाद्र १८, बिहीबार १६:५२
राष्ट्रिय परिचयपत्रको सकसले चुलिँदै मेयर र बीपी साहबीचको टकराव

सबैला (धनुषा) : धनुषाको पर्यटकीय तथा ऐतिहासिक क्षेत्र मानिने सबैला नगरपालिका यतिबेला स्थानीय विकास निर्माणभन्दा पनि राजनीतिक र प्रशासनिक खिचातानीका कारण चर्चाको शिखरमा छ। विवादको केन्द्रबिन्दुमा छन्, नगर प्रमुख कारिराम यादव र अघिल्लो स्थानीय तह निर्वाचनमा उनका प्रतिस्पर्धी रहेका बीपी साह।

नगरवासीलाई राष्ट्रिय परिचयपत्र बनाउन परेको सास्ती र सामाजिक सुरक्षा भत्ता रोकिने जोखिमलाई लिएर सुरु भएको यो खिचातानी अहिले पालिका परिसरमै आमनेसामनेको स्थितिमा पुगेको छ।

ADVERTISEMENT

सबैला नगरपालिकाका स्थानीयवासीले राष्ट्रिय परिचयपत्र बनाउनका लागि अहिले पनि जिल्ला सदरमुकाम जनकपुरधाम धाउनुपर्ने बाध्यता छ। सामान्य कामका लागि जनकपुर ओहोरदोहोर गर्दा समयसँगै विपन्न परिवारको आर्थिक व्ययभार बढेको छ। राष्ट्रिय परिचयपत्र नहुँदा वृद्धवृद्धा, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा कार्ड नवीकरणमा समस्या देखिएको छ।

त्यसैगरी, सवारी चालक अनुमतिपत्र नवीकरण वा नयाँ आवेदन, नयाँ मतदाता नामावली दर्ता र बैंक खाता सञ्चालन जस्ता अत्यावश्यक सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि आम सर्वसाधारण थप मारमा परेका छन्। राष्ट्रिय परिचयपत्र नहुँदा कयौँ स्थानीयको बैंक खाता रोक्का भएको छ भने कयौँको रोक्का हुने क्रममा छ।

सबैला नगरपालिकामै राष्ट्रिय परिचयपत्र बनाउने टोली खटाउनका लागि बीपी साहले सुरुमा नगर प्रमुख यादवलाई मौखिक आग्रह गरेका थिए। तर, पालिका नेतृत्वबाट कुनै चासो नदेखाएपछि साहले गत साउन २६ गते औपचारिक रूपमा ज्ञापनपत्र बुझाए।

 

ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएपछि साहले भदौ ९ गते मंगलबार नगरपालिका कार्यालय अगाडि एकल धर्ना सुरु गरे।

धर्नाकै दिन पालिका प्रशासनले ‘एक साताभित्र राष्ट्रिय परिचयपत्र सङ्कलनको काम सुरु गर्ने’ आश्वासन दिएको थियो। तर, सो आश्वासन कुरामै सीमित भएपछि साह भदौ १८ गते दोस्रो पटक पुनः धर्नामा बसे। यसपटक उनलाई समर्थन गर्न स्थानीय युवाहरू पनि धर्नास्थल पुगेका थिए।

‘चुनावी स्टन्ट’ भ्रामक कि वास्तविक माग ?

धर्ना चलिरहेका बेला धर्नास्थल पुगेका नगर प्रमुख कारिराम यादवले बीपी साहको यो कदमलाई चुनावी प्रचारको संज्ञा दिएपछि स्थिति थप तातिएको थियो।

“चुनाव नजिकिन थालेपछि बीपी साहजीले धर्ना दिएर प्रचारप्रसार सुरु गर्नुभएको हो,” मेयर यादवको तर्क थियो, “यदि धर्ना नै दिनुछ भने पालिकामा होइन, जिल्ला प्रशासन कार्यालय (सिडियो कार्यालय) मा गएर दिनुस्।”

मेयर यादवको भनाइको प्रतिवाद गर्दै साहले यो व्यक्तिगत वा राजनीतिक प्रचार नभई जनताको अधिकारको लडाइँ भएको स्पष्ट पारे। “यदि मेरो धर्ना चुनावी प्रचार हो भने राष्ट्रिय परिचयपत्र पालिकामै बनाउने व्यवस्था गरिदिनुस्, मेरो प्रचार आफैँ बन्द हुन्छ,” साहको भनाइ थियो, “होइन भने राष्ट्रिय परिचयपत्र बिना नै वृद्धवृद्धाको सामाजिक सुरक्षा कार्ड नवीकरण गराइदिनुस् र रोक्का भएका बैंक खाताहरू आफ्नै हस्ताक्षरबाट फुकुवा गराइदिनुस्।”

दुवै पक्षबीच भनाभन पछि इलाका प्रहरी कार्यालय सबैलाको टोली र नगर प्रहरीको उपस्थिति थियो।

धर्नाको निर्धारित समय सकिएपछि बीपी साहले नगर प्रमुखलाई पुनः एक साताको समय सीमा (अल्टिमेटम) दिएका छन्। सो अवधिभित्र पनि सबैला नगरपालिकामै राष्ट्रिय परिचयपत्र दर्ता प्रक्रिया सुरु नभए अझ दबाबमूलक आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी साह पक्षले दिएको छ।

नगरपालिकाले आफ्ना नागरिकको आधारभूत सुविधाका लागि पहल गर्छ कि विवाद अझ चुलिन्छ, त्यो भने आउँदा दिनहरूले नै देखाउनेछ।

प्रकाशित मिति: २०८३ भाद्र १८, बिहीबार १६:५२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !