मधेशमा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहामा सबैभन्दा बढी, महोत्तरी सबैभन्दा पछाडि

मधेशमा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहामा सबैभन्दा बढी, महोत्तरी सबैभन्दा पछाडि
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २, शनिबार २१:१०
मधेशमा ५८ प्रतिशत धान रोपाइँ सम्पन्न, सिरहामा सबैभन्दा बढी, महोत्तरी सबैभन्दा पछाडि

जनकपुरधाम : पर्याप्त वर्षा नहुँदा यस वर्ष असार महिनाको अन्त्यसम्म मधेश प्रदेशमा धान रोपाइँ अपेक्षाकृत सुस्त देखिएको छ। हालसम्म प्रदेशभर कुल खेतीयोग्य क्षेत्रफलको ५७.९३ प्रतिशत जमिनमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।

मधेश प्रदेश कृषि विकास निर्देशनालय, नक्टाझिज (धनुषा)का अनुसार आठ जिल्लामध्ये सिरहामा सबैभन्दा बढी ८० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ भने महोत्तरीमा सबैभन्दा कम ३९.५९ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले समयमै पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लामा रोपाइँ प्रभावित भएको बताए।

ADVERTISEMENT

निर्देशनालयले सार्वजनिक गरेको विवरणअनुसार सप्तरीमा ६८ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३४ हजार हेक्टर, सिरहामा ५४ हजार हेक्टरमध्ये ४३ हजार २०० हेक्टर, धनुषामा ४३ हजार ७०० हेक्टरमध्ये २१ हजार ८५० हेक्टर, महोत्तरीमा ४० हजार हेक्टरमध्ये १५ हजार ८३८ हेक्टर, सर्लाहीमा ४२ हजार ६९५ हेक्टरमध्ये २५ हजार ६१९ हेक्टर, रौतहटमा ३८ हजार ५०० हेक्टरमध्ये २१ हजार १७५ हेक्टर, बारामा ४५ हजार १०० हेक्टरमध्ये २४ हजार ८०५ हेक्टर तथा पर्सामा ५३ हजार ९३८ हेक्टरमध्ये करिब ३५ हजार हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको जानकारी दिए।

पछिल्ला केही दिनयता वर्षा भएपछि खेतमा पर्याप्त चिस्यान पुगेसँगै किसानहरू रोपाइँमा व्यस्त बनेका छन्। कृषि प्राविधिकहरूका अनुसार असारभित्र रोपाइँ सम्पन्न गर्न सके धान उत्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। अहिले प्रदेशभर खेत तयारी, बीउ उखेल्ने र रोपाइँको काम तीव्र गतिमा भइरहेको छ।

यस वर्ष किसानहरूले उन्नत जातका धानका बीउ प्रयोग गर्नुका साथै रासायनिक तथा प्राङ्गारिक मलको सन्तुलित प्रयोगमा पनि ध्यान दिएका छन्। तर केही स्थानमा मलको अभाव, सिँचाइ पूर्वाधारको कमजोरी तथा अनियमित वर्षा अझै किसानका प्रमुख चुनौती बनेका छन्।

सप्तरीको बोदेबर्साइनका किसान अजयकुमार यादवले भने, “समयमै मलको उपलब्धता र सिँचाइको व्यवस्था हुन सके यस वर्ष धान उत्पादन अझ राम्रो हुने अपेक्षा गर्न सकिन्छ।”

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार २१:१०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !