निहारिका र विनुको सिंहदरबार गेटअघि घण्टी बजाएर विरोध, गृहमन्त्रीलाई भेट्न नदिएको आरोप

निहारिका र विनुको सिंहदरबार गेटअघि घण्टी बजाएर विरोध, गृहमन्त्रीलाई भेट्न नदिएको आरोप
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २, शनिबार १७:५५
निहारिका र विनुको सिंहदरबार गेटअघि घण्टी बजाएर विरोध, गृहमन्त्रीलाई भेट्न नदिएको आरोप

काठमाडौं : निहारिका राजपुत र विनु यादवले शनिबार सिंहदरबारको दक्षिण गेटअगाडि धर्ना दिँदै घण्टी बजाएर प्रतीकात्मक विरोध प्रदर्शन गरेका छन्। गृहमन्त्रीसँग आफ्ना समस्या राख्न खोज्दा प्रवेशमा अवरोध गरिएको भन्दै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न ‘घण्टी’ बजाएर असन्तुष्टि जनाएका हुन्।

प्रदर्शनका क्रममा निहारिकाले सञ्चारकर्मीसँग कुरा गर्दै आफ्नो मुद्दामा विगतमा साथ दिएका रवि लामिछाने र काठमाडौं महानगरपालिकाका तत्कालिन प्रमुख वालेन्द्र शाह (बालेन) अहिले सत्ता र जिम्मेवारीमा पुगेपछि मौन बसेको आरोप लगाइन्।

ADVERTISEMENT

उनका अनुसार सिंहदरबार प्रवेशका लागि आवश्यक पास भए पनि प्रहरीले भित्र जान नदिई करिब चार घण्टासम्म गेटबाहिर कुराएको थियो। धर्नाका क्रममा प्रहरीसँग भएको धकेलाधकेलमा आफ्ना लुगा च्यातिएको र शारीरिक चोटसमेत लागेको दाबी उनीहरूले गरेका छन्।

निहारिकाले बलात्कारपछि जन्मिएको बच्चाको डीएनए परीक्षण, मिलापत्रका आधारमा भएको विवाह तथा त्यसपछि आफूले भोग्नुपरेको घरेलु हिंसाको विषयमा अझै न्याय नपाएको गुनासो गरिन्। नयाँ सरकारसँग न्यायको अपेक्षा गरे पनि त्यसमा निराश हुनुपरेको उनको भनाइ छ।

गृहमन्त्रीले आफूहरूलाई बेवास्ता गरेको र पाँच वर्षीय बालकसमेतलाई नहेरी अघि बढेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन्। आफ्ना माग सम्बोधन गरी निष्पक्ष अनुसन्धान प्रक्रिया अघि नबढाएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि उनीहरूले दिएका छन्।

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार १७:५५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !