रौतहटमा स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहटमा स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ
मधेशपत्र मधेशपत्र २०८३ श्रावण २, शनिबार १०:२०
रौतहटमा स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ

रौतहट : रौतहटको गौर भन्सार कार्यालय नजिक स्रोत नखुलेको ५ लाख ५० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार शुक्रबार साँझ गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय परिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले नियमित चेकजाँचका क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको सार्वजनिक अटो रिक्सामा सवार भारतको बिहार राज्य, सितामढी जिल्ला, बैरगनिया निवासी ६२ वर्षीय राजेन्द्र प्रसाद जयसवाललाई नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

प्रहरीले उनको शरीर खानतलासी गर्दा खुट्टामा लगाएको मोजाभित्र लुकाएर राखिएको स्रोत नखुलेको नेपाली ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको जनाएको छ। साथै, भिभो कम्पनीको एक थान मोबाइल फोन र भारतीय ४ हजार ८० रुपैयाँ पनि बरामद गरिएको छ।

बरामद नेपाली रकममध्ये १ हजार रुपैयाँ दरका ४९५ थान र ५०० रुपैयाँ दरका ११० थान नोट रहेका छन्।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा जयसवालले यसअघि पनि निश्चित पारिश्रमिक लिएर ‘भरिया’का रूपमा भारतबाट नेपालतर्फ नगद रकम ओसारपसार गर्ने गरेको बताएका छन्। उक्त दाबीको सत्यता भने अनुसन्धानबाट पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका जयसवालमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मिति: २०८३ श्रावण २, शनिबार १०:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !