मृत्युको मुखमा पुगेका १८ दिने नवजातको समयमै उपचारपछि ज्यान बच्यो

मृत्युको मुखमा पुगेका १८ दिने नवजातको समयमै उपचारपछि ज्यान बच्यो
पत्रपत्रिका पत्रपत्रिका २०८३ असार २, मंगलवार ०६:५३
मृत्युको मुखमा पुगेका १८ दिने नवजातको समयमै उपचारपछि ज्यान बच्यो

जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१, सोहनी गाउँमा मृत्युको मुखमा पुगेका १८ दिने नवजात शिशुको समयमै चिकित्सकीय हस्तक्षेपका कारण ज्यान जोगिएको छ।

स्थानीय २४ वर्षीया रीता देवी मण्डलले गत राति करिब १२ बजेतिर ओछ्यानमै सुतेर आफ्ना १८ दिने शिशुलाई स्तनपान गराइरहेकी थिइन्। सोही क्रममा शिशुको नाकबाट सिँगानजस्तै दूध निस्किन थालेको र शरीर निलो हुँदै गएपछि घरमा त्रासको वातावरण सिर्जना भएको थियो।

ADVERTISEMENT

शिशुको अवस्था गम्भीर बनेपछि उनका पिता चन्दे मण्डलले गाउँमै रहेका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. सतिन्द्र रायलाई खबर गरेका थिए। सूचना पाएलगत्तै शिशुको घर पुगेका डा. रायले परीक्षण गर्दा अक्सिजनको कमीका कारण शिशुको शरीर निलो भएको र ‘अस्पाइरेशन अफ मिल्क’ (दूध श्वासनलीमा पस्ने अवस्था) का कारण शिशुको ज्यान जोखिममा परेको पत्ता लगाए।

डा. रायका अनुसार शिशुको अवस्था अत्यन्त नाजुक थियो। प्रारम्भिक उपचारपछि उनले आफ्नै निगरानीमा सिपिआर (कार्डियोपल्मोनरी रिससिटेसन) दिँदै रातिको समयमा सवारीसाधनको अभावबीच शिशुलाई जनकपुरधामस्थित नेपाल अपोलो अस्पताल पुर्‍याएका थिए।

अस्पतालमा बालरोग विशेषज्ञसहितको स्वास्थ्यकर्मी टोलीले नवजातलाई एनआइसीयु भेन्टिलेटरमा राखेर उपचार सुरु गरेको थियो। करिब एक साताको उपचारपछि शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको र सकुशल घर फर्किएको अस्पताल स्रोतले जनाएको छ।

यसअघि यस्तै प्रकृतिका सातवटा नवजात मृत्युका घटना देखिसकेका डा. रायले यो घटनालाई निकै चुनौतीपूर्ण रहेको बताए। उनले नवजात शिशुलाई स्तनपान गराउँदा सही विधि अपनाउन र कुनै असामान्य लक्षण देखिए तत्काल स्वास्थ्य संस्थाको सम्पर्कमा जान अभिभावकलाई आग्रह गरेका छन्।-जनकपुर टुडे

प्रकाशित मिति: २०८३ असार २, मंगलवार ०६:५३
पत्रपत्रिका

पत्रपत्रिका

लेखक


तपाईको प्रतिक्रिया !