महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट

महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट
पत्रपत्रिका पत्रपत्रिका २०८३ असार १, सोमबार ०६:१८
महाधिवेशन सुरु नहुँदै देखिन थाल्यो रास्वपामा गुट

काठमाडौं : सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअघि पार्टीभित्र विवाद तिब्ररुपमा बढदै गइरहेको छ । केन्द्रदेखि जिल्लासम्म विवाद बढदै गएपछि कतिपय जिल्ला र प्रदेश अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

नेतृत्वमा पुग्ने होडबाजी र नेताहरुबीच बढदै गइरहेको असन्तुष्टिले पार्टी स्थापना दिवसकै दिन हुने प्रथम राष्ट्रिय महाधिवेशनमा समेत त्यसको प्रभाव पर्ने निश्चित छ । रास्वपाले आउँदो ७, ८ र ९ असारमा चितवनमा पहिलो महाधिवेशन गर्दैछ ।

ADVERTISEMENT

अहिलेसम्म ६५ जिल्ला, ४ प्रदेशमा अधिवेशन सम्पन्न गरेको रास्वपाले विवादका कारण केही जिल्ला र प्रदेशमा अधिवेशन स्थगित गरेको छ । देशभरका सबै वडा, पालिकामा अधिवेशन हुन सकेको छैन । यद्यपी अधिकांश वडा, पालिका, जिल्लामा अधिवेशन सम्पन्न भएको र हुन नसकेका ठाउँमा महाधिवेशनपछि गरिने रास्वपाले जनाएको छ ।

कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा नयाँ नेतृत्व चयन गर्दै प्रदेश अधिवेशन सम्पन्न भएको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण मधेश प्रदेश र वागमती प्रदेश अधिवेशन स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशको अधिवेशन सोमबार (१ असार)मा हुँदैछ ।

बाराको कलैयामा अधिवेशन स्थलमै भएको सुरुवाती विवाद विस्तारै मधेशभरी फैलियो । मधेश हुँदै विभिन्न जिल्ला र प्रदेशमा समेत विवाद हुन थालेपछि रास्वपाले विवादित प्रदेश र जिल्लामा अधिवेशन नै स्थगित गर्यो ।

मधेश प्रदेशका अधिकांश जिल्लाहरूमा नेतृत्व चयन प्रक्रियामा पार्टीभित्र विवाद चर्किदै गएपछि स्थागित भएको हो । यस्तै मतदाता नामावलीको विवाद र मतपत्रमा भएको त्रुटिको कारण देखाउँदै बागमती प्रदेशको हेटौडामा जारी अधिवेशन स्थगित भएको हो ।

विवाद र झडपबीच मधेश प्रदेशको पर्सा जिल्ला अधिवेशन सम्पन्न भएको छ । मधेस प्रदेशका ७ जिल्ला बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीमा प्रतिनिधि विवाद, केन्द्रीय नेता तथा सांसदहरुको हस्तक्षेपको आरोप र आन्तरिक गुटबन्दीका कारण अधिवेशन स्थगित भएका छन् ।

बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधि विवाद र आकांक्षीहरूबीच सहमति जुट्न नसक्दा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । यसैगरी मनाङ, मुस्ताङ, डोल्पा, हुम्ला र रुकुम पूर्वमा भने भौगोलिक विकटतासँगै विवाद एवं अन्य विविध कारणले तोकिएकै समयमा अधिवेशन हुन नसकेको रास्वपाले जनाएको छ ।

अधिवेशनमात्रै होइन, नेताहरुमा पनि तालमेल छैन
वडा, पालिका, जिल्ला, प्रदेश अधिवेशनमा मात्रै नभई रास्वपा नेताहरुबीच समेत तालमेल मिलेको छैन । रास्वपा वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको तीन महिना पुग्दैछ । तर नेताहरुका बीचमा तालमेल मिलेको छैन । एकले अर्कोलाई कटाक्ष एवं आलोचना गर्ने काम बढदै गएपछि त्यसको प्रभाव अधिवेशनमा समेत देखिएको हो ।

सांसदले मन्त्री, मन्त्रीले प्रधानमन्त्री भेटनै नपाउने वा भेटन नसकेको गुनासो रास्वपाभित्र सामान्य भइसकेको छ । रास्वपाभित्रको विवाद बढ्दै जाँदा सामाजिक सञ्जालमा पोखिन थालिएको छ ।

गत १५ जेठमा बजेट सार्वजनिक भएको दिन प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘ढुक्क हुनुस्’ भनेर लेखेका थिए । उनले ढुक्क हुनु अब मुलुक बन्छ भन्ने सन्देश दिएका थिए । तर रास्वपा नेताले नै त्यसलाई पत्याएनन् । सभापति रवि लामिछाने निकट मानिने नेता प्रमोद न्यौपानेले प्रधानमन्त्री शाहको काउन्टरमा ‘ढुक्क हुनुस्, यसरी चाहिँ बन्दै बन्दैन’ भनेर स्टास लेखे ।

सामाजिक सञ्जालबाट सुरु भएको नेताहरुको कटाक्ष, विरोध, आलोचना यत्तिमै सिमित भएन । रास्वपाकै अर्का नेता आसिफ शाहले न्यौपानेको काउन्टरमा अर्को स्टाटस लेखे । ‘ढुक्क हुनुहोस, बन्ने यसरी नै हो’ भन्दै आसिफ शाहले प्रधानमन्त्री शाहको समर्थन र न्यौपानेको विरोधमा यस्तो लेखेका थिए ।

न्यौपाने रवि निकटका हुन् भने आसिफ प्रधानमन्त्री शाहको कोर टिमका नेता हुन् । प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम र आसिफ दाजुभाइ हुन् ।

यसैगरी प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्ति संसद्मा दिएका थिए । त्यसको आलोचना र समर्थनकै बीचमा पार्टी सभापति लामिछानेको भारत भ्रमण भएको थियो । तर सभापति लामिछानेले यस विवादको ’boutमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न सकेका छैनन् ।

भारत भ्रमणप्रति सरकारका प्रवक्ता समेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सार्वजनिक रुपमै सरकारसँग उक्त भ्रमणको कुनै सम्बन्ध नरहेको टिप्पणी गरे । रास्वपाकै वरिष्ठ नेताको नेतृत्वमा सरकार र रास्वपाकै सभापतिको भारत भ्रमणप्रति सरकारका प्रवक्ताको यस्तो टिप्पणीले पार्टीभित्र नेताहरुबीच तालमेल नभएको पुष्टि हुन्छ ।

यस्तै, रास्वपा सांसद अमरेशकुमार सिंहले हालै एक सार्वजनिक कार्यक्रममा ‘हु इज असिम शाह ?’ भन्दै आलोचना गरेका छन् । असिम शाह प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र संविधान संशोधन कार्यदलका लागि सरकारले गठन गरेको समितिका संयोजक हुन् ।

सिंहले असिमलाई को हो ऊ भनेर प्रश्न गर्दै आफूहरुको सहमति बिना संविधान संशोधन हुनै नसक्ने टिप्पणी गरेका छन् । ‘संविधान संशोधन हुनेवाला छैन । संविधान संशोधनमा मेरो (सांसदका रुपमा) सहमति त चाहियो नि । मेरो सहमतिबिना संविधान संशोधन हुँदैन । प्रदेशको संशोधन गर्ने हो भने प्रदेशको सहमति चाहियो नि । कुन प्रदेशमा असीम शाहको सरकार छ ? हु इज असिम शाह ?,’ सिंहले भनेका छन् ।

यसैगरी सांसद सिंहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको समेत संसद् बैठकबाटै आलोचना गरेका छन् । बजेटको बिषयलाई लिएर सांसद सिंहले चर्को विरोध गरेपछि अहिले रास्वपाभित्रै नभई चौतर्फी चर्चाको विषय बनेको छ ।- राजधानी दैनिक

प्रकाशित मिति: २०८३ असार १, सोमबार ०६:१८
पत्रपत्रिका

पत्रपत्रिका

लेखक


तपाईको प्रतिक्रिया !