सडक नाटकसहित सर्लाहीमा लागुऔषधविरुद्ध विशेष अभियान सुरु

सडक नाटकसहित सर्लाहीमा लागुऔषधविरुद्ध विशेष अभियान सुरु
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २६, शनिबार ११:३९
सडक नाटकसहित सर्लाहीमा लागुऔषधविरुद्ध विशेष अभियान सुरु

सर्लाही : सर्लाही प्रहरीले युवापुस्तालाई कुलतबाट जोगाउने र समाजमा बढ्दो लागुऔषध दुर्व्यसन नियन्त्रण गर्ने उद्देश्यका साथ विशेष अभियानको शुभारम्भ गरेको छ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निर्देशनमा सञ्चालित ‘लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान २०८३’ अन्तर्गत दोस्रो चरणको यो कार्यक्रम शुक्रबारदेखि सर्लाहीमा औपचारिक रूपमा सुरु भएको हो।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक सरोज राईले अभियानको मुख्य लक्ष्य लागुऔषध सेवन गर्नेहरूको पहिचान गरी उनीहरूलाई सुधारको मार्गमा ल्याउनु रहेको बताए। उनले यस सामाजिक चुनौतीको सामना गर्न समुदाय, स्थानीय तह, अभिभावक र सुरक्षा निकायबीच बलियो सहकार्य हुनुपर्नेमा जोड दिँदै यो अभियान जिल्लाभर निरन्तर सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गरे।

प्रहरी चौकी गोरखकालीमा आयोजित उद्घाटन समारोहका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी होमबहादुर घिमिरेले लागुऔषधको समस्याले समाजलाई ठुलो क्षति पुर्‍याइरहेको चर्चा गर्दै युवाहरूलाई कुलतबाट जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राखे।

सोही अवसरमा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण मुख्यालयका कर्मचारीहरूले लागुऔषधका दुष्परिणाम र यसले परिवार एवं समाजमा पार्ने नकारात्मक प्रभावका विषयमा केन्द्रित रहेर मार्मिक सडक नाटक प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो, जसले लागुऔषध विरुद्धको यो अभियानलाई सामाजिक ऐक्यबद्धता प्रदान गरेको छ।

प्रकाशित मिति: २०८३ बैशाख २६, शनिबार ११:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !