‘सुधन गुरुङलाई गृहमन्त्री बनाउनुपर्ने’ माग गर्दै जनकपुरधाममा ‘जेनजी’ युवाहरूको प्रदर्शन

‘सुधन गुरुङलाई गृहमन्त्री बनाउनुपर्ने’ माग गर्दै जनकपुरधाममा ‘जेनजी’ युवाहरूको प्रदर्शन
मधेशपत्र मधेशपत्र २०८३ बैशाख २५, शुक्रबार १९:२८
‘सुधन गुरुङलाई गृहमन्त्री बनाउनुपर्ने’ माग गर्दै जनकपुरधाममा ‘जेनजी’ युवाहरूको प्रदर्शन

जनकपुरधाम : जनकपुरका युवाहरूको एक समूहले पूर्वगृहमन्त्री सुधन गुरुङलाई पुनः सोही पदमा नियुक्त गर्न माग गर्दै शुक्रबार शान्तिपूर्ण प्रदर्शन गरेका छन्। जनकपुरधामको प्रसिद्ध जनक चोकमा भेला भएका ‘जेनजी’ (नयाँ पुस्ता) का युवाहरूले गुरुङको पक्षमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।

स्वतन्त्र युवाहरूको समूहले आयोजना गरेको उक्त प्रदर्शनमा सहभागीहरूले “सुरक्षित सारथी सुधन गुरुङ”, “काम गर्न देऊ”, “आरोपको खेल बन्द गर”, “भ्रष्टाचारीको खेलमा सत्य किन डराओस्” र “सत्यलाई समय देऊ, हल्लालाई होइन” जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।

ADVERTISEMENT

उनीहरूले पछिल्लो समय गुरुङमाथि लागेका आरोपहरूलाई राजनीतिक षड्यन्त्रको संज्ञा दिँदै उनलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरेका छन्।

प्रदर्शनमा सहभागी स्थानीय युवा सुरज कुमार सिंहका अनुसार, नयाँ पुस्ताका युवाहरूले सुधन गुरुङले सुरु गरेका परिवर्तनकारी कार्यहरूलाई निरन्तरता दिन उनको पुनरागमन आवश्यक ठानेका छन्।

“यसअघि काठमाडौँको माइतीघरमा पनि यस्तै प्रदर्शन भएको थियो। अहिले तराई-मधेसका युवाहरू पनि जागरुक भएका छन् भन्ने सन्देश दिन हामी सडकमा उत्रिएका हौँ,” सिंहले भने।

पछिल्लो समय युवा पुस्तामाझ लोकप्रिय देखिएका पूर्वगृहमन्त्री गुरुङलाई पुनः जिम्मेवारी सुम्पिनुपर्ने माग गर्दै देशका विभिन्न स्थानमा स्वतःस्फूर्त प्रदर्शनहरू हुन थालेका छन्। जनकपुरधामका युवाहरूले पनि गुरुङलाई गृहमन्त्री बनाएर देशमा सुशासन र विकासको गतिलाई अघि बढाउन सरकारसँग माग गरेका छन्।

प्रकाशित मिति: २०८३ बैशाख २५, शुक्रबार १९:२८
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !