कमला नदीको अस्थायी बाँध बाढीले बग्दा आवतजावतमा समस्या

कमला नदीको अस्थायी बाँध बाढीले बग्दा आवतजावतमा समस्या
सुरेश ठाकुर सुरेश ठाकुर २०८३ बैशाख १४, सोमबार २३:१७
कमला नदीको अस्थायी बाँध बाढीले बग्दा आवतजावतमा समस्या

सिरहा : सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल नजिक बनाइएको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावत प्रभावित भएको छ।

गएराति परेको अविरल वर्षापछि आएको बाढीले पुलको ‘डाइभर्सन’ भन्दा करिब ३०० मिटर अगाडि बनाइएको माटोको बाँध बगाएको हो। बाँध बगेसँगै उक्त सडकखण्डमा सवारी सञ्चालन अवरुद्ध भएको थियो।

ADVERTISEMENT

स्थानीय रामचन्द्र यादवका अनुसार बाँध भत्किएपछि सयौँ सवारीसाधन बीचमै अलपत्र परेका थिए। पछि स्थानीयवासीको सहयोगमा ती सवारीसाधन तारिएको उनले बताए।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले लगातारको वर्षाले संरचनामा क्षति पुगेको जानकारी दिए। उनका अनुसार निर्माण व्यवसायीले डोजर प्रयोग गरी माटो हालेर बाँध पुनःनिर्माण थालेको छ।

“अहिले आंशिक रूपमा सवारी सञ्चालन गराउने प्रयास भइरहेको छ,” बरालले भने।

हुलाकी राजमार्गअन्तर्गत पर्ने उक्त कमला नदी पुल निर्माण भने लामो समयदेखि अलपत्र छ। २०६८ जेठमा पप्पु–लुम्बिनी जेभीसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पुल २०७१ मंसिरमै सम्पन्न हुनुपर्ने थियो। तर, निर्धारित समय बितिसक्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन।

प्रकाशित मिति: २०८३ बैशाख १४, सोमबार २३:१७
सुरेश ठाकुर

सुरेश ठाकुर

लेखक


तपाईको प्रतिक्रिया !