मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल
मधेशपत्र मधेशपत्र २०८३ बैशाख १०, बिहीबार २१:२९
मन्त्री चौधरीद्वारा रासायनिक मल आपूर्ति सहज बनाउनका लागि पहल

काठमाडौं : कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले रासायनिक मल आपूर्तिको विषयलाई उच्च प्राथमिकतामा राख्दै परराष्ट्र मन्त्रालयसँग पहलका लागि छलफल गरेकी छन्।

उनले आज परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्दै मल आपूर्तिमा देखिएका समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेकी हुन् ।

ADVERTISEMENT

पश्चिम एसियामा देखिएको सङ्कटका कारण मल आपूर्तिमा थप समस्या भइरहेको भन्दै मन्त्री चौधरीले आपूर्तिको व्यवस्थापन सहज गर्न पहल गरिदिन परराष्ट्रमन्त्री समक्ष आग्रह गरेकी हुन् ।

मौज्दात भएको रासायनिक मलको व्यवस्थापनका लागि मन्त्रालयले सरोकार भएका निकायलाई जानकारी गराइसकेको छ । हालसम्म सरकारसँग करिब असारसम्म पुग्ने मल मौज्दात रहेको मन्त्री चौधरीकी प्रेस संयोजक सरिता थारुले जानकारी दिइन् ।

उनका अनुसार सोपश्चात्का लागि मन्त्री चौधरीले थप एक लाख ५० हजार मेट्रिकटन मल जिटुजी (सरकार–सरकार) माध्यमबाट खरिद गर्ने निर्णय गरिसकेकी छन् ।

गत चैत १९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार परराष्ट्र मन्त्रालयमार्फत भारतीय पक्षसँग आवश्यक समन्वय अघि बढाइएको प्रेस संयोजक थारुले जानकारी दिइन् । नेपालस्थित भारतीय दूतावाससँग पनि सम्पर्क गरी प्रक्रिया अगाडि बढाइएको उनले बताइन् ।

यसबीच, वैकल्पिक व्यवस्थापनका लागि अन्य क्षेत्रबाट पनि पहल भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: २०८३ बैशाख १०, बिहीबार २१:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !