एक महिना नबित्दै बालेन सरकारका दुई मन्त्रीको पद चैट

एक महिना नबित्दै बालेन सरकारका दुई मन्त्रीको पद चैट
मधेशपत्र मधेशपत्र २०८३ बैशाख ९, बुधबार १६:५४
एक महिना नबित्दै बालेन सरकारका दुई मन्त्रीको पद चैट

काठमाडौं : गत १३ चैतमा वालेन्द्र शाह बालेन नेतृत्वको सरकारमा मन्त्री बनेकाहरूमध्ये २ जनाको मन्त्री पद गएको छ । सार्वजनिक रूपमा प्रश्न उठेपछि उनीहरूको मन्त्री पद गएको हो ।

बुधबार गृहमन्त्री सुधन गुरुङले राजीनामा दिए । विवादास्पद व्यवसायीसँग साँठगाँठ गरी अकुत सम्पत्ति आर्जेको आरोप लागेपछि उनलाई बर्खास्त गर्न प्रधानमन्त्री शाहलाई दबाब परेको थियो ।

ADVERTISEMENT

सत्ताधारी दल रास्वपाकै नेताहरूसहित विपक्षी दलहरूले गुरुङले राजीनामा दिनुपर्ने माग गरेका थिए । गुरुङले आफूमाथि लगाइएको आरोप झुटो रहेको बताउँदै आएका छन् । यद्यपि, छानबिनमा सघाउन राजीनामा दिएको उनको भनाइ छ ।

उनले आफू पदमा हुँदा स्वार्थको द्वन्द्व नदेखियोस् भनेर राजीनामा दिएको बताए । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थका द्वन्द्व नदेखियोस् । त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्, ‘मैले आफ्नोतर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु । अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आमनेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथीहरूको कहाँकहाँ स्वीट शेयर छ, बिस्तारै आऊला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ ।’

त्यसअघि आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा अनधिकृत रूपमा सहभागी गराउने भूमिका खेलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह पनि १३ दिनमै बर्खास्तीमा परेका थिए । उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । पार्टीको सिफारिसका आधारमा साह हटाइएका थिए ।

प्रकाशित मिति: २०८३ बैशाख ९, बुधबार १६:५४
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !