मधेशमा ३३ जना बिचौलिया पक्राउ

मधेशमा ३३ जना बिचौलिया पक्राउ
मधेशपत्र मधेशपत्र २०८२ चैत्र २४, मंगलवार २२:०७
मधेशमा ३३ जना बिचौलिया पक्राउ

जनकपुरधाम : मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयमा सक्रिय बिचौलियामाथि प्रहरीले व्यापक कारबाही सुरु गरेको छ। सोही क्रममा प्रहरीले ३३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार पर्साको वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट चार जना, मालपोत कार्यालयबाट तीन जना, रौतहटको गौरस्थित मालपोत कार्यालयबाट पाँच जना, चन्द्रपुर मालपोत कार्यालयबाट दुई जना, सर्लाहीको मलङ्गवा ट्रायल सेन्टरबाट दुई जना तथा मलङ्गवा मालपोत कार्यालयबाट नौ जना पक्राउ परेका छन्।

ADVERTISEMENT

यस्तै, धनुषाका विभिन्न सरकारी कार्यालयबाट चार जना र सप्तरीका विभिन्न कार्यालयबाट चार जना गरी कुल ३३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले सर्वसाधारणलाई छिटो सेवा दिलाइदिने बहानामा अतिरिक्त रकम असुल्ने, भ्रामक सूचना दिने तथा सेवा प्रवाहमा अवरोध सिर्जना गर्ने जस्ता गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

मधेश प्रदेश प्रहरी कार्यालयले सम्बन्धित निकायहरूसँग समन्वय गर्दै अन्य संलग्न व्यक्तिहरूको खोजी तथा नियन्त्रण प्रक्रिया अघि बढाइएको जनाएको छ।

प्रहरीले आम नागरिकलाई सरकारी सेवा लिँदा कुनै पनि बिचौलियाको प्रलोभनमा नपर्न आग्रह गर्दै यस्ता गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा जानकारी गराउन अपिल गरेको छ।

कार्यालयले गैरकानुनी कार्यमा संलग्न जोसुकैलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक तथा सहायक प्रवक्ता मानबहादुर राईले जानकारी दिएका छन्।

प्रकाशित मिति: २०८२ चैत्र २४, मंगलवार २२:०७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !