जनताको गुनासो सुन्दै सरार्फ, आधारभूत सेवा सुधार प्राथमिकतामा

जनताको गुनासो सुन्दै सरार्फ, आधारभूत सेवा सुधार प्राथमिकतामा
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन १२, मंगलवार २०:२२
जनताको गुनासो सुन्दै सरार्फ, आधारभूत सेवा सुधार प्राथमिकतामा

वीरगंज : जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले चुनावी प्रचारलाई तीव्र बनाउँदै वीरगंज महानगरपालिका–२१ को कुशवाहा टोल र तात्वा टोलमा घरदैलो कार्यक्रम गरेका छन्।

घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूका समस्या, सुझाव र अपेक्षाबारे जानकारी लिएका थिए। स्थानीयवासीले खानेपानीको अभावलाई प्रमुख समस्या रूपमा उठाएका छन्। नियमित तथा शुद्ध खानेपानी नहुँदा महिलाहरू र बालबालिकाले टाढाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। कतिपय स्थानमा हातेधारा बिग्रिएको र पाइपलाइन भए पनि पानी नआउने समस्या रहेको गुनासो गरिएको छ।

ADVERTISEMENT

शिक्षा क्षेत्रको अवस्था पनि कमजोर रहेको स्थानीयले बताएका छन्। सरकारी विद्यालयमा शिक्षक अभाव, पूर्वाधारको कमी र गुणस्तरीय शिक्षाको अभावका कारण विद्यार्थी प्रभावित भएको उनीहरूको भनाइ छ। आर्थिक रूपमा कमजोर परिवारले समेत निजी विद्यालय रोज्न बाध्य भएको गुनासो गरिएको छ।

स्वास्थ्य सेवामा पहुँच कमजोर रहेको भन्दै सामान्य उपचारका लागि समेत बजार धाउनुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन्। स्वास्थ्य चौकीमा औषधि, उपकरण र जनशक्तिको अभाव रहेको उनीहरूको भनाइ छ।

कृषि क्षेत्रमा सिँचाइको अभाव, मलखाद तथा बीउबिजनको समस्या र उत्पादनको उचित मूल्य नपाउने विषय किसानहरूले उठाएका छन्। बजार व्यवस्थापन कमजोर हुँदा किसान निराश भएको उनीहरूको धारणा छ।

स्थानीयका गुनासा सुनेपछि सरार्फले खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन्। उनले युवाका लागि रोजगारी सिर्जना, किसानमैत्री नीति र सामाजिक न्याय सुदृढ गर्ने एजेन्डा अघि सारे।

“जनताको विश्वास पाएर संसदमा पुगेपछि यहाँका समस्याको दीर्घकालीन समाधानका लागि पहल गर्नेछु,” उनले भने।

घरदैलो कार्यक्रममा स्थानीयले विगतमा आश्वासन मात्र पाएको तर कार्यान्वयन कमजोर रहेको गुनासो दोहोर्‍याउँदै यसपटक परिणाममुखी नेतृत्व चाहिएको बताएका छन्। पर्सा–१ मा सरार्फको प्रचार अभियान दिनप्रतिदिन सक्रिय बन्दै गएको जनाइएको छ।

प्रकाशित मिति: २०८२ फाल्गुन १२, मंगलवार २०:२२
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !