जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १४ जना निष्कासित

जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १४ जना निष्कासित
मधेशपत्र मधेशपत्र २०८२ फाल्गुन ११, सोमबार २०:३६
जसपा नेपालद्वारा महोत्तरीका दुई पालिका प्रमुखसहित १४ जना निष्कासित

महोत्तरी : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा महोत्तरीका दुई पालिका प्रमुखसहित १४ जना नेता तथा कार्यकर्तालाई निष्कासन गरेको छ।

पार्टीका अनुसार जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार र पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवसहित १४ जनालाई पार्टी विधानविपरीत क्रियाकलाप गरेको भन्दै कारबाही गरिएको हो। प्रतिनिधि सभाका आधिकारिक उम्मेदवारको पक्षमा नकारात्मक गतिविधि गरेको ठहर गर्दै उनीहरूलाई पार्टीबाट हटाइएको जिल्ला समितिले जनाएको छ।

ADVERTISEMENT

जसपा नेपालको महोत्तरी जिल्ला समितिले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णय तत्काल लागू हुने उल्लेख गरिएको छ। साथै, पार्टीको चुनाव चिन्ह ‘छाता’मा मतदान गरी आधिकारिक उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण नेता, कार्यकर्ता र आम मतदातासँग समर्थन र सहकार्यका लागि आह्वान गरिएको छ।

पार्टीले निष्कासित नेताहरूलाई पहिलोपटक माघ १९ गते र अन्तिमपटक फागुन ८ गते लिखित तथा मौखिक रूपमा सचेत गराएको जनाएको छ। कारबाहीमा परेकाहरूमा कुशेश्वर सिंह, कुमरकान्ता, शेष जाली, सविता कुमारी देवी, रामनन्दन यादव, मोजिम राइन, सुरेश साह सोनार, सन्तोष साह, रामजानकी यादव, रामप्रकाश यादव, शम्भु यादव, राहुल पाण्डेय, श्याम यादव र हरिनारायण मण्डल रहेका छन्।

यसैबीच, श्याम यादव र हरिनारायण मण्डललाई पार्टी केन्द्रीय समितिबाट तथा पिपरा गाउँपालिकाकी उपाध्यक्ष वन्दना पाण्डेयलाई प्रदेश समितिबाट निष्कासनका लागि सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ। जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायद्वारा जारी विज्ञप्तिमा पार्टीको अनुशासन र हितको रक्षा गर्दै आगामी निर्वाचनमा आधिकारिक उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिइएको छ।

यसअघि पनि माघ १४ गते जसपा नेपालले पूर्वमन्त्रीसहित आठ जनामाथि कारबाही गरेको थियो। प्रतिनिधि सभा निर्वाचनमा पार्टीको नीति तथा निर्णयविपरीत आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको आरोपमा पूर्वमन्त्री हरिनारायण यादव, प्रदीप यादव (पर्सा), चन्दनकुमार सिंह (बारा), आत्माराम साह (बारा), कमरुल्लाह अन्सारी (बारा), उदयकान्त मिश्र (सर्लाही), नवलकिशोर सिंह (बारा) र डा. शिवजी यादव (महोत्तरी)लाई कारबाही गरिएको थियो।

प्रकाशित मिति: २०८२ फाल्गुन ११, सोमबार २०:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !