नयाँ कमला पुल निर्माण महाअभियानको घोषणा

नयाँ कमला पुल निर्माण महाअभियानको घोषणा
मधेशपत्र मधेशपत्र २०८२ मंसिर २०, शनिबार २२:१३
नयाँ कमला पुल निर्माण महाअभियानको घोषणा

जनकपुरधाम : विगत १४ वर्षदेखि अधुरो रूपमा निर्माणाधीन हुलाकी सडकअन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणका लागि महाअभियान घोषणा गरिएको छ।

शनिबार कमला नदीको तटमा आयोजित कार्यक्रममा कबिर बाल आश्रम जनकपुरधामका संस्थापक सत्यनारायण आलोक बाबाको अध्यक्षतामा धनुषा र सिरहाका सयौँ स्थानीयको उपस्थितिमा नयाँ कमला पुल निर्माण महाअभियानको औपचारिक घोषणा गरिएको हो।

ADVERTISEMENT

नयाँ कमला पुल निर्माणका लागि जनस्तरबाट प्रत्येक व्यक्तिबाट एक सय रुपैयाँका दरले चन्दा संकलन गरी प्रधानमन्त्रीलाई बुझाउने योजना रहेको अभियन्ता डा. कृष्ण कुमार यादवले बताए। उनले अब कमला पुल निर्माणका लागि सबै नागरिकलाई यस अभियानमा एकजुट हुन आग्रह गरे।

अभियन्ता तथा पत्रकार रामरिझन यादवका अनुसार पुल स्थलमै अभियानको औपचारिक सुरुआत गरिएको हो।

उनका अनुसार करिब १४ वर्षअघि निर्माण सुरु भए पनि पटक–पटक म्याद थप्दै काम अलपत्र परिरहेको छ। विसं २०७८ असार १७ गते आएको बाढीले पुलका दुईवटा पिलर भासिएपछि समस्या झन् जटिल बनेको छ। पुल नबन्दा मधेशका लाखौँ नागरिकको आवतजावत, स्वास्थ्य सेवा, शिक्षा र आर्थिक गतिविधिमा गम्भीर असर परेको उनको भनाइ छ।

सरकारले लामो समयसम्म पुल निर्माण सम्पन्न गर्न नसकेपछि जनताले नै प्रतिकात्मक रूपमा पुल निर्माण गर्नुपर्ने अवस्था आएको भन्दै अभियान सुरु गरिएको अभियन्ता यादवले बताए। उनले केही दिनअघि पुल निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई जानकारी गराएरै अभियान आरम्भ गरिएको जानकारी दिए।

मन्त्री घिसिङले पुललाई प्राथमिकतामा राखेर जसरी पनि निर्माण गरिने प्रतिबद्धता जनाए पनि त्यसमा पूर्ण रूपमा ढुक्क हुने अवस्था नरहेको अभियानीहरूको भनाइ छ। नयाँ कमला पुल निर्माणमा करिब दुई अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

यसका लागि धनुषा, सिरहा र सप्तरी जिल्लाका बासिन्दाबाट चन्दा संकलन गरी सरकारलाई सहयोग गर्ने योजना बनाइएको छ। अभियन्ताहरूले प्रतिपरिवार १० हजार रुपैयाँका दरले चन्दा संकलन गर्ने, विष्णु महायज्ञ आयोजना गर्ने तथा अभियानलाई प्रशासनमा दर्ता गरी प्राप्त हुने अनुदान रकम सरकारकै कोषमा जम्मा गराउने जनाएका छन्।

प्रकाशित मिति: २०८२ मंसिर २०, शनिबार २२:१३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !