कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै
मधेशपत्र मधेशपत्र २०८२ मंसिर १६, मंगलवार ०९:३९
कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

जनकपुरधाम : हुलाकी राजमार्ग अन्तर्गत धनुषा -सिरहा जोड्ने कमला नदीमा तत्कालका लागि आवतजावतलाई सहज बनाउन अस्थायी ‘डाइभर्सन’ निर्माण हुने भएको छ ।

हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरधामले आइतबार हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदिमा डाइभर्सन सडक निर्माणका लागि ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको छ ।

ADVERTISEMENT

कार्यालयका प्रमुख कृष्णकुमार महतोका अनुसार एक करोड २४ लाख ८५ हजारको लागतमा सिरहाको बसविट्टाघाट र कमला खोलालाई जोड्ने गरी ५५ मिटर लम्बाइ र १० मिटर चौडाइको अस्थायी ‘डाइभर्सन’ निर्माण गर्न लागिएको हो ।

आकस्मिक कार्यअन्तर्गत आह्वान गरिएको ठेक्काअनुसार एक महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ । विगत १४ वर्षदेखि पक्की पुल निर्माणाधीन अवस्थामा छ । हाल स्थानीय युवाले बनाएको काठको पुल र नदीमा डुङ्गाको माध्यमबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ । यसैबीच यही मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुलको निरीक्षणका क्रममा तत्कालै अस्थायी प्रकृतिको डाइभर्सन बनाउने प्रतिबद्धता जनाएका थिए ।

मन्त्री घिसिङको निर्देशनपछि पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । विसं २०६८ जेठमा तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको यो पुल १४ वर्ष बितिसक्दा पनि अधुरै छ । विसं २०७८ असार १७ गते कमलाको बाढीले भाँसिएको पुलको निर्माण सम्झौता हाल नवौँपटक म्याद थपको प्रक्रियामा छ ।

प्रकाशित मिति: २०८२ मंसिर १६, मंगलवार ०९:३९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !